झापाको भद्रपुरमा आज देखि सुरू मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ।
मेची रंगशाला भद्रपुरमा भएको खेलमा भारतीय जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो।
भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे। पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा आयोजकका तर्फबाट विदेशी खेलाडी स्टेफन समीरले गोल गरे। मेसुके ओलोमोउलेको पासलाई डिबक्समा रहेको स्टफनले गोलमा परिणत गरे। दोस्रो गोल ८०औं मिनेटमा आयोजकका मेसुकेले गरे।
खेलको सुरुवाती समयदेखि नै आयोजकले पाहुना टोली जयगाउँलाई दबाबमा राखेको थियो। यद्यपि पहिलो हाफमा आयोजकले गोल गर्न सकेन। आयोजकले पाएका मौकालाई जयगाउँले विफल बनाइदियो। दोस्रो हाफमा आयोजकले जयगाउँको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सफल भएको थियो।
पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए। उनले नगद २० हजार पुरस्कार पाए। विजयी भएको आयोजक भद्रपुर ब्लेजर्स अब क्वाटर फाइनलमा मंलबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
संकटा बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको छ। सोमबारको खेल विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजक भद्रपुर–झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए।
आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा फागुन १६ गतेसम्म हुनेछ। गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छन्। प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन्।
उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ।