नेपाली राष्ट्रिय महिला फुटबल टिमका एघार खेलाडीलाई फुटबल बुट हस्तान्तरण गरिएको छ।
रोजगारीको सिलसिलामा कतारमा बस्दै आएका टेकप्रसाद गोतामे (ज्याकी चेन) ले नेपाली राष्ट्रिय महिला टिमका एघार जना खेलाडीलाई मायाको चिनोस्वरुप फुटबल बुट प्रदान गरेका हुन्। उनले एडिडास ब्रान्डका बुट प्रदान गरेका हुन्।
सोमबार दशरथ रंगशालामा आयोजित कार्यक्रममा चेनले करिब एक लाख रुपैयाँ बराबरको बुट प्रदान गरेका हुन्।
बुट पाउने खेलाडीमा राष्ट्रिय टिमकी कप्तान एन्जिला सुब्बा तुम्बापोसहित सावित्रा भण्डारी, अनिता बस्नेत, हिराकुमारी भुजेल, गीता राना, अनिता केसी, प्रिति राई, अमृता जैशी, रश्मी घिसिङ, दीपा शाही र सरु लिम्बु छन्।
गत सेप्टेम्बरमा नेपालमा भएको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई १-० गोलले पराजित गरेपछि गोतामेले नेपाली टिमको प्लेइङ-११ का खेलाडीलाई एक लाख बराबरको पुरस्कार दिने घोषणा गरेका थिए।
फाइनल जिते दुई लाख रुपैयाँ दिने उनको घोषणा थियो। तर फाइनलमा भने नेपाललाई बंगलादेशले ३-१ गोलले हराएको थियो।