मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो। मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक-एक गोल गरे।
खेलमा सुरूआती अग्रता भने चर्च ब्वाइजले लिएको थियो। खेलको ५४ औं मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरूआती गोल गरे। उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत् गोल गरेका हुन्।
यद्यपि अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो। खेलको ८१ औं मिनेटमा सुजल श्रेष्ठले लामो फ्री-किकलाई सिधै गोलमा परिणत गरे।
खेललाई बराबरीमा फर्काएपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे। खेलको ८६ औं मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत् गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे।
मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए।
बुधबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए। उनले नगद २० हजार रुपैयाँ पुरस्कार पाए।
भोलिको खेल त्रिभुवन आर्मी फुटबल क्लब र ड्रुक ल्हायुल फुटबल क्लब भुटानबीच हुनेछ।
आइतबारदेखि सुरू भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन्।
उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ।