'केपी ओली कप २०२३' राष्ट्रिय फुटबल प्रतियोगितामा सातदोबाटो युवा क्लबले विजयी सुरुवात गरेको छ।
बिहीबार भएको उद्घाटन खेलमा सातदोबाटोले नेपाल पुलिस क्लबलाई २-१ गोलले पराजित गर्यो।
सातदोबाटोका लागि दुवैं गोल दीपकराज सिंह ठकुरीले गरे। उनले पहिलो हाफको इन्जुरी टाइममा पहिलो गोल गरेका थिए।
पुलिसका प्रविन थापाले ४९ मिनेटमा बराबरी गोल फर्काए।
७१ मिनेटमा दिपकले अर्को गोल गरेपछि सातदोबाटोले दोस्रो पटक खेलमा अग्रता लियो।
जितसँगै सातदोबाटो सेमिफाइनलमा प्रवेश गरेको छ।
खेल हेर्नको लागि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली एन्फा कम्प्लेक्स सातदोबाटो पुगेका थिए। ओलीले नै प्रतियोगिताको उद्घाटन गरेका थिए।
फुटबल प्रतियोगिता १७ गतेसम्म चल्नेछ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख रुपैयाँ, उपविजेतालाई ५ लाख रुपैयाँ, बेस्ट प्लेयरलाई १ लाख रुपैयाँ, बेस्ट गोलकिपरलाई १ लाख रुपैयाँ, प्रत्येक म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ र प्रत्येक म्याचको विजेता टिमलाई २५ हजार रुपैयाँको दरले पुरस्कार राशी राखिएको छ।
तस्बिरहरू: निशा भण्डारी/सेतोपाटी