धरानमा आजदेखि सुरु भएको अन्तर्राष्टिय आमन्त्रित २३औँ संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ।
खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित हुँदै धरान फुटबल क्लब प्रतियोगिताबाटै बाहिरिएको हो।
निर्धारित ९० मिनेटमा दुवै टोलीको गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। धरानले दुई सुट ‘मिस’ गर्दा खेलबाट बाहिरिएको हो।
युकेएफसी भारतका सिध्वनी क्षेत्री, सुप्रियो सुरेन, साइल राई, आकाश प्रधान र राज राउतले पेनाल्टी सुट गरेका थिए। धरानका दोर्जे शेर्पा, मदन राई र रोहन मास्कले गोल गरे। एक्काइसौँ संस्करणमा फाइलनमा पुगेको आयोजक टोलीले हालसम्म प्रतियोगिता जित्न सकेको छैन।
आइतबारको दोस्रो क्वार्टरफाइनल खेल बागमती युवा क्लब सर्लाही र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकका प्रमुख हर्क साङपाङ राईले गरे।