मछिन्द्र फुटबल क्लब झापामा जारी झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टोली एपिएफलाई १-० गोल अन्तरमा हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो।
मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठले निर्णायक गोल गरे। खेलको १७ औँ मिनेटमा डिबक्सभित्र आन्द्रेस नियाको पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए।
दर्शक भरिभराउ रंगशालामा गत वर्षको लिग च्याम्पियन मछिन्द्रले गोल गरेपछि एपिएफ दबाबमा परेको थियो। पहिलो हाफमा मछिन्द्र एपिएफमाथि हाबी देखियो।
खेलको २५ औँ मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङको फ्रिकिक प्रहार क्रसबार माथिबाट आकासियो। खेलको ३५ औँ मिनेटमा सौरभ लिम्बूले डिबक्सभित्रबाट गरेको प्रहार एपिएफका गोलरक्षक अञ्जल श्रेष्ठको रोके।
पहिलो हाफको अतिरिक्त समयमा एपिएफका सविन थापाको प्रहार क्रसबारमा लागेर बाहिरिदा बराबरी गर्ने मौका गुमायो।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि एपिएफले गोल गर्न नसक्दा बाहिरिनु पर्यो।
आइतबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका सुजल श्रेष्ठ भए। उनले नगद २० हजार पुरस्कार पाए।
अब मछिन्द्रले उपाधिका लागि मंगलबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।
फागुन ७ गतेदेखि सुरू भएको गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए।
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन्। उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयीमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रूपैयाँ पाउनेछन्।