लियोनेल मेसी र केलियन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा मार्सेमाथि उत्कृष्ट जित दर्ता गरेको छ।
पिएसजीले लिगमा दोस्रो स्थानको घरेलु टोली मार्सेलाई ३–० ले पराजित गरेको हो।
पिएसजीको जितमा एम्बाप्पेले दुई गोल र एक असिस्ट तथा मेसीले एक गोल र दुई असिस्ट प्रदान गरेका थिए। स्टेड ओरेन्ज भेलो ड्रोम मार्सेमा आइतबार राति भएको खेलको २५औं मिनेटमा मेसीको पासमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाए। २९ औं मिनेटमा मेसीले एम्बाप्पेको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे।
यो सँगै अर्जेन्टिनी फरवार्ड लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गरेका छन्। मेसी क्रिस्टियानो रोनाल्डोपछि क्लब करियरमा ७०० गोल पूरा गर्ने खेलाडी बने। मेसीले पीएसजीका लागि २८औं गोल गर्दै उक्त उपलब्धि हासिल गरेका हुन् । उनले २०२१ मा फ्रेन्च क्लब जानुअघि बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका थिए।
पहिलो हाफमा २-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा थप एक गोल गर्यो। खेलको ५५औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। उनले मेसीकै पासमा गोल गरेका थिए। यो सँगै एम्बाप्पेले पीएसजीका लागि सर्वाधिक २०० गोल गर्ने डिनसन कभानीको कीर्तिमान पनि बराबरी गरेका छन्।
त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी ३-० गोल अन्तरमा विजयी भयो। यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २५ खेलबाट ६० अंक पुगेको छ। पराजित मार्से ५२ अंक जोडेर दोस्रो स्थानमा छ। पिएसजीले मार्सेलाई ८ अंकले पछि पारेको छ।