अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगको मार्केटिङ, प्रसारण र डिजिटल तथा टिकेटिङ अधिकारका लागि एमडीएसी स्पोर्ट्स प्रालिसँग सम्झौता गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार आयोजित पत्रकार सम्मेलनमा सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा एन्फाका महासचिव किरण राई र एमडीएसीका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार एमडीएसीले एन्फालाई १ करोड ९७ लाख रुपैयाँ उपलब्ध गराउनेछ। लिगका खेलहरू स्पेस फोर के टेलिभिजन र यसको अनलाइन प्लेटफर्महरूमा प्रत्यक्ष प्रसारण हुनेछन्। खेल प्रत्यक्ष प्रसारण गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ।
एमडीएसीले कुल रकमको ५० प्रतिशत एन्फालाई बुझाएको र बाँकी रकमको बैंक ग्यारेन्टी दिएको राईले जानकारी दिए।
एमडीएसी प्रमुख कार्यकारी अधिकृत घिमिरेले आगामी लिगलाई सफल बनाउन चाहेको बताए। घिमिरेले भने, ‘फुटबलको प्रशंसक भएकाले हामी देशको खेलकुद क्षेत्रमा योगदान पुर्याउन चाहन्छौं र लिगबाटै सुरु गर्न चाहन्छौं।
सहिद स्मारक ‘ए’ डिभिजन लिग माघ १९ बाट सुरु हुँदैछ। लिग डबल राउण्ड रोबिन ढाँचामा खेलाइने छ र खेलहरु दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन्।