प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ।
मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।
जीतसँगै आर्मीले १३ लाख नगद उपहार पाएको छ। उपविजेता बनेको मछिन्द्रले ७ लाख पाएको छ।
निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि १४ मिनेट अतिरिक्त समय थपिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी शुटआउटमा पुगेको थियो।
पेनाल्टीमा मछिन्द्रका दिवाकार चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरेका थिए। आर्मीका दिपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरेका थिए।
आर्मीका गोलरक्षक समित श्रेष्ठले पेनाल्टीमा रेजिन धिमाल र देवेन्द्र तामाङले प्रहार गरेको बल रोकेका थिए। मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले भने आर्मीका सेसेहाङ आङदाम्बेको मात्रै बल छेक्न सफल भए।
खेलमा दुई वटा रेड कार्डको समेत प्रयोग भयो। ७३ मिनेटमा आर्मीका सुदिल राई र मछिन्द्रका ओमोलाजा करिमबीच झगडा हुँदा रेफ्रीले दुबै जनालाई रेड कार्ड देखाएको थियो। त्यसपछि दुबै टोलीले १०-१० जना खेलाडीमा सीमित भएको थियो।
खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्ता मछिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडी मछिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए।
उनीहरूले २५ हजार नगद पाएका थिए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए। उनले नगद एक लाख रुपैयाँ पाए। विजेता र उपविजेतालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए।
यसैबीच आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्ड स्वरुप पूर्वफुटबलर गम्भीर राईलाई टिभिएस मोटरसाइकल प्रदान गरेको थियो।