इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले रोमाञ्चक पूनरागमन जित निकालेको छ।
युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोसँग दुई पटक पछि परेको स्थिति उल्ट्याएर ४–२ को रोमाञ्चक पूनरागमन जित निकालेको हो।
युभेन्ट्सको पूनरागमन जितमा जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटले गोल गरे। टोरिनोका यान कारामोह र एन्टोनियो सानाव्रियाले गोल गरेका थिए।
एलिएन्ज स्टेडियम टोरिनोमा गएराति खेलको दोस्रो मिनेटमा नै यान कारामोहको गोल गर्दै टोरिनोले सुरूआती अग्रता बनायो। तर खेलको १६औं मिनेटमा जुआन कोर्डाडोले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
४३ औं मिनेटमा टोरिनोका एन्टोनियो सानाव्रियाले गोल गर्दै टोलीलाई पुन २-१ ले अग्रता दिलाए। तर पहिलो हाफको इन्ज्युरी समयमा डानिलोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
त्यसपछि दोस्रो हाफमा पुरै पकड जमाएको युभेन्टसले दुई गोल गर्दै रोमाञ्चक जित निकाल्यो। खेलको ७१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा ३–२ को अग्रता दिलाए । ८१औं मिनेटमा एड्रिएन राविओटले गोल गर्द युभेन्ट्सको जित पक्का गरे ।
यो जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा यथावत छ। पराजित टोरिनो ३१ अंक जोडेर नवौं स्थानमा झरेको छ।
लिगको शीर्ष स्थानमा रहेको नेपोलीले समान खेलबाछ २१ जितसहित ६५ अंक बनाएको छ। यस्तै दोस्रो स्थानमा रहेको इन्टरको १५ जितसहित ४७ अंक जोडेको छ। १४ जितसहित मिलान तेस्रो र १३ जितसहित लाजिओ चौथौ स्थानमा छन्।
मंगलबारकै अर्को खेलमा रेलिगेशन जोनमा रहेको क्रेमोन्सेले रोमामाथि २–१ को जित निकाल्यो। यो हारसँगै रोमाले तेस्रो स्थानमा उक्लने मौका गुमायो।
आर्थिक पक्षमा गडबढी गरेपछि जारी लिगमा ठूलो कारबाहीको भागिदार भएको युभेन्टसले १५ अंक गुमाउनु परेको छ।
खेलाडी ट्रान्सफर कारोबारको सही आँकडा सार्वजनिक नगरेको भन्दै इटली फुटबल महासंघले उसलाई जारी सिरी ए मा १५ अंक घटाउने कारबाही गरेको हो।