मोरक्को तथा फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ। आरोपको विषयमा फ्रान्सको सम्बन्धित कार्यालयले प्रारम्भिक अनुसन्धान थालेको बिबिसीले जनाएको छ।
२४ वर्षीया महिलाले पिएसजीका फुल ब्याक हाकिमीले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्।
महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको बिबिसीले लेखेको छ।
मुद्दा हेर्ने सार्वजनिक अभियोजकको कार्यालयले मुद्दाको विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ, तर अनुसन्धान सुरु भएको पुष्टि भने गरेको छ।
स्पेनमा जन्मेका हाकिमी मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्दा एक प्रमुख खेलाडी थिए। मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको थियो।
त्यही प्रदर्शनको आधारमा सोमबार साँझ पेरिसमा आयोजित फिफा फुटबल अवार्ड समारोहमा उनी पनि पुगेका थिए। उनी वर्षको फिफाप्रो पुरुष विश्व टोलीमा परेका थिए।
आरोपको विषयमा हाकिमी र पिएसजीले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन्।