सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकप प्रतियोगिताको २३औँ संस्करणमा एन्फा मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ।
मोरङले बङ्गलादेशको केबिपिएस क्लबलाई ३–१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
धरान–१६ स्थित रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा मोरङ र बङ्गलादेशको केबिपिएस दुवै पक्षबाट गोल हुन नसकेपछि टाइब्रेकरमार्फत जित हारको निर्णय भएको हो।
मोरङको जितमा गोलकिपर प्रमिजय गच्छदार नायक बने। उनले बङ्गलादेशका तीन खेलाडीलाई गोल गर्नबाट बचाए । खेलको म्यान अफ दी म्याच पनि गच्छेदार नै भए। उनले रु १० हजार पुरस्कार प्राप्त गरे।
बङ्गलादेशका लागि खोका बाबुले मात्र गोल गर्न सफल भए। मोरङका लागि सञ्जय धिमाल, सान याक्खा र मनिष धिमाल गोल गर्न सफल भए । मोरङले बिहीबार एभिनियर फुटबल क्लब क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ। एभिनियर बागमती युवा क्लब सर्लाहीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
बुधबार युके एफसी भारत र केएफटिसी झापाबीच सेमिफाइलन खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा तीन विदेशीसहित आठ टोली सहभागी छन्।