अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा विवाद भएको छ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विहान आठ बजे बोलाइएको बैठक विवादका कारण तीन घन्टासम्म बस्न सकेन।
एन्फाका महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्त, फिफा विश्वकप २०२२ को टिकट बिक्रीलगायतको एजेन्डा थप नभएको भन्दै विरोध भएपछि बैठक बस्न ढिलाइ भएको थियो।
उपाध्यक्षहरु विराटजंग शाही, दिपक खतिवडा, दीर्घबहादुर केसीसहित सदस्यहरू पेमा डोल्मा लामा, रुपेश अधिकारी, रविन्द्र चन्द र रमेश व्यञ्जनकारले एजेन्डा थप नभएको भन्दै विरोध गरेका थिए।
अध्यक्ष पंकजविक्रम नेम्बाङले उपस्थित २० जना मध्ये १० जनाको सहमति भएको भन्दै बैठक संचालन गरेका छन्।
त्यसक्रममा असन्तुष्ट पक्षले विरोध गरेका छन् भने दुई पक्षबीच चर्काचर्की भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
बैठकमा नेपालमा थ्री नेसन्स कप आयोजना, महिला ओलम्पिक छनोट, महिला लिग, पदपूर्ति, फुटसल फ्रेन्चाइज प्रतियोगिता, नेपाल सुपर लिगका लागि समय उपलब्ध गराउनेसहित सिईओ, सहायक महासचिव नियुक्त गर्ने एजेन्डामा छलफल हुने तय छ।