लिभरपुल इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गर्दै अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा लिभरपुलले वल्भ्समाथि २–० को सहज जित हात पारेको हो।
लिभरपुललाई जिताउन मोहम्मद सलाह र भर्जिल भान डाइकको गोल गरे। दुवै गोल दोस्रो हाफमा ५ मिनेटको अन्तरमा भएको थियो।
एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले पाहुना टोलीमाथि बल पोसेसन राख्दै पकड बनाए पनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७३औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए।
त्यसको पाँच मिनेटपछि मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको जित निश्चित गरे।
यो जितसँगै लिभरपुल २४ खेलबाट ३९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको हो।
समान अंक भए पनि एक खेल बढी खेलेको फुलहम गोल अन्तरमा पछि छ । पराजित वल्भ्स २४ अंक जोडेर १५औं स्थानमा छ।
एभर्टनमाथि सहज जित निकालेको आर्सनल ६० अंकसहित शीर्ष स्थानमा कायमै छ।