सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२३ अन्तर्गत शनिबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई २–१ ले तथा एपिएफ फुटबल क्लबले थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गरेका छन्।
च्यासल रंगशालामा भएको खेलको १४ औं मिनेटमा रवि पासवानले गोल गर्दै नेपाल पुलिसलाई अग्रता दिलाएका थिए। पहिलो हाफको थपिएको मिनेटमा चर्च ब्वाइजका लागि आशिष चौधरीले गोल गर्दा खेलको ७० औं मिनेटमा चर्च ब्वाइजका लागि फ्रान्कलिन कुएटे टाल्लाले गोल गर्दै आफ्नो टिमलाई जित दिलाए।
दशरथ रंगशालामा भएको अर्को खेलमा एपिएफले थ्री स्टारलाई २–० गोल अन्तरले पराजित गरेको हो। ७२ औं मिनेटमा मणि लामाले फ्रिकिकबाट गोल गरेका थिए।
एपिएफका लागि ८७औं मिनेटमा अर्मान्ड बिडोमले दोस्रो गोल गरे।
एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले जितसँगै लिग सुरु गर्न चाहेको र त्यसमा सफल भएको बताए।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले अनुभवहीन लाइनअपले आजको खेल खर्चिलो भएको बताए। केसीले भने,‘हामीले युवा खेलाडीहरूमा विश्वास राखेका छौं। खेलाडीले साँच्चै राम्रो खेले तर राम्रो खेल्दा सधैं खेल जितिदैन। उनीहरूसँग अनुभवको कमी छ,’ केसीले भने।
मनाङ मर्स्याङदी क्लबले हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरी खेलेको छ।
मनाङका रोशन राना मगरको १५ औं मिनेटको गरेका थिए। शेर्पाका सुरेश कुमालले बराबरी गोल फर्काए।
आइतबार दिउँसो २:३० बजे च्यासल रंगशालामा हुने पहिलो खेलमा न्यूरोड टिमले सातदोबाटो युथ क्लबसँग खेल्नेछ। त्रिभुवन आर्मी फुटबल क्लबले दशरथ रंगशालामा संकटासँग खेल्नेछ भने पहिलो चरणको फाइनल खेल मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ।