नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य सुनिल बल सुरक्षित भविष्यका लागि भन्दै अस्ट्रेलिया उडेका छन्।
बललाई अष्ट्रेलियाको नेपाली क्लबले स्थानीय प्रतियोगितामा भाग लिन आमन्त्रण गरेपछि उनी ए डिभिजन लिग छोडेर अष्ट्रेलिया उडेका हुन्।
घरेलु फुटबलका प्रभावशाली मिडफिल्डर बल नेपालको कमजोर फुटबल संरचना र त्यसबाट जीवन निर्वाह गर्न कठिनाइ भएपछि विदेसिएका हुन्।
संकटा क्लबका कप्तानसमेत रहेका सुनिलले घरेलु फुटबलका अधिकांश ठूला क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।
करियरकै उच्च फर्ममा रहेका उनी गत वर्षको लिगको सर्वोत्कृष्ट खेलाडी बनेका थिए। मछिन्द्रले लगातार दोस्रो पटक लिग उपाधि जित्दा सुनिलको प्रर्दशन प्रभावशाली थियो।
अधिकांश फुटबलर सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया लागेपछि सुनिलले समेत विदेश जाने प्रयास थालेका थिए।
फुटबलका ३ दर्जनभन्दा बढी खेलाडी आफ्नो सुरक्षित भविष्यका लागि करियर छाडेर रोजगारीका लागि अष्ट्रेलिया पुगेका हुन्।
कुनै समय राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नु गौरवको विषय मानिन्थो। मुलुकको झन्डा बोक्ने खेलाडी सद्भावना दूतका रूपमा चिनिन्थे। मान र सम्मान थियो, राष्ट्रका गहना भनिन्थ्यो र वाहावाही हुन्थ्यो। तर पछिल्लो समय राष्ट्रिय खेलाडी नेपालका राष्ट्रिय लिग र गोल्डकप छोडेर विदेशमा हुने टोलकपमा पनि सहभागी हुने होडबाजी चलेको छ।
अधिकांश राष्ट्रिय फुटबलहरू राष्ट्रको नेतृत्व गर्न छोडेर अस्ट्रेलियामा हुने टोलकपमा सपना बुन्दै पलायन हुन थालेका छन्।
खेलकुद संरचना बलियो नहुनु र खेलेर नै जीविकोपार्जन गर्न नसकिने अवस्थाका कारण प्रतिभाशाली तथा उदीयमान खेलाडी सुन्दर भविष्य खोज्दै अस्ट्रेलिया भासिने क्रम जारी छ।
पछिल्लो दुई वर्षमा मात्र करिब दुई दर्जन राष्ट्रिय टोली र उमेर समूहमा मुलुकको प्रतिनिधित्व गरिसकेका खेलाडी अस्ट्रेलिया आइपुगेका छन्।
अस्ट्रेलिया जाने खेलाडीमा राजन गुरुङ, रुमेश बर्तौला, रवि थिङ, आमिर श्रेष्ठ, मिच्छेन तामाङ, सन्तोष तामाङ, दर्शन गुरुङ, विमल बस्नेत, हेमन गुरूङ, विमल राना, रोहित कार्की, एलन न्यौपानेलगायत छन्।
अष्ट्रेलिया आइपुग्ने अधिकांश खेलाडीलाई यहाँका सप्ताहन्त फुटबल खेल्ने नेपाली क्लबले बोलाएका हुन्। खेलाडीहरू यहाँ आउँदै गर्दा सबक्लास ४०० भिसा अन्तर्गत आउँछन्।
उनीहरूलाई सिमित घेरामा मात्र आफ्नो क्षमता प्रर्दशन गर्ने अघिकार रहन्छ। यस्तो अवस्थामा पनि किन नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू धमाधम अस्ट्रेलिया आइरहेका छन् यो नौलो विषय बनेको छ।
नेपालमा नियमित फुटबल प्रतियोगिता नहुँदा राष्ट्रिय फुटबल खेलाडीले समेत आफ्नो भविश्य सुरक्षित पार्न विभिन्न बहानामा बिदेसिएको अस्ट्रेलियन नेप्लिज फुटबल संघका पूर्व अध्यक्ष डा राजु मानन्धरले बताए।
‘यता आएर स्तरीय फुटबल खेल्नु नराम्रो त होइन तर राष्ट्रिय खेलाडी यता आएर सप्ताहन्त फुटबलमा दिन बिताउनु भने राम्रो होइन। यसले नेपाली फुटबललाई नराम्रो असर पर्न जान्छ’, एन्फाका कोषाध्यक्षसमेत रहिसकेका मानन्धरले भने।
हिजो एक नेपाली क्रिकेटरले यहाँको बिसबास लिग खेल्दैगर्दा नेपालीको पहिचानसमेत उजेलिएको तर्क गर्दै मानन्धरले जथाभावी नेपाली राष्ट्रिय खेलाडी अष्ट्रेलिया भित्रिएकोमा चिन्ता व्यक्त गरे।
‘व्यवसायिक फुटबल खेल्न आएको भए हाम्रो शान र मान बढ्थ्यो। तर पछिल्ला दिनहरुमा जसरी ह्वात्तै नेपाली राष्ट्रिय खेलाडीहरू अस्ट्रेलिया आएका छन् यो नेपाली फुटबलको लागि राम्रो संकेत भने पक्कै होइन’, उनले भने।
नेपाली फुटबलरलाई यहाँको स्थानीय नेपाली क्लबले आफ्नो निम्तामा अस्ट्रेलिया बोलाएको हुन्छन् र केहि महिनापछि उनीहरू विद्यार्थी भिसामा स्थानान्तरण हुन्छन्।
अस्ट्रेलियाको अध्यागमन नीति अनुसार यसरी आउनेहरुले भिसा परिवर्तन गरी विद्यार्थी भिसा लिन पाउने भएकाले खेलाडीहरुको आकर्षण बढी देखिएको छ।
‘हामीलाई यहाँकै एक क्लबले एक महिनाको लागि खेल्न बोलाएको हो। नेपालमा यतिबेला फुटबल पनि भएको छैन त्यहीँ भएर हामी आयौं’, भर्खरै अष्ट्रेलिया आएका एक नेपाली राष्ट्रिय खेलाडीले सेतोपाटीसँग भने,‘नेपालमा नियमित लिग र अन्य प्रतियोगिताहरू हुने हो भने हामी यता आउने कुरै हुँदैनथ्यो।’
नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष तथा खेलकुदप्रेमी इथान शाक्य राष्ट्र, राष्ट्रियता झल्काउने गरी एउटा राष्ट्रिय खेलाडी अस्ट्रेलिया आउनु गौरवको विषय भए पनि पछिल्लो घटना शुभ संकेत नभएको जिकिर गर्छन्।
वर्षौंको लगानीबाट तयार भएको एउटा पुस्ता बाहिरिँदा अन्तर्राष्ट्रिय टिम निर्माणमा संकट आउने देखिन्छ।
‘फुटबलका नाममा टोलकप खेल्ने, विद्यार्थी बन्ने र फार्मतिर कमाइ गर्ने, प्रोटेक्सन भिसा हाल्ने हो भने त्यो मुलुकको बेइज्जत हो यो रोकिनुपर्छ’, पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेका इथानले भने, ‘यता आएका राष्ट्रिय फुटबलरको उपस्थिति हेर्दा व्यवसायीक होइन, विदेश अनि धनको मोह देखिएको छ। यो नेपाली फुटबल जगतको लागि शुभ संकेत होइन।’
अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज नेम्वाङ खेलाडीहरू उज्वल भबिष्यका लागि व्यवसायीक फुटबल खेल्न भनेर बिदेसिदै गर्दा आफूहरूले रोक्ने कुनै उपाय नभएको बताउँछन्।