बुटवलमा तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २२ औं संस्करण हुँदैछ। मोफसलको पुरानो मानिने तिलोत्तमा गोल्डकपको स्थापना २०३१ सालमा तत्कालीन बुटवल नगर पञ्चायतले गरेको थियो।
गोल्डकप स्थापना गरेको दुई वर्षपछि २०३३ सालदेखि सुरू गरेको प्रतियोगिता नियमित हुन नसक्दा ४६ वर्षमा बल्ल २२ औं संस्करण हुँदैछ।
बुधबार गोल्डकप प्रतियोगिता हुने एन्फा एकेडेमीको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै आगामी चैत ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिताको २२ औं संस्करण हुने जानकारी दिइएको हो।
रूपन्देही जिल्ला फुटबल संघले आयोजना गर्ने प्रतियोगितामा आयोजक रूपन्देही ११, नेपाल पुलिस, एपिएफ, मनाङ मर्स्याङ्दी, थ्री स्टार, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा र सुदूर पश्चिम ११ गरी आठ टिमले प्रतिस्पर्धा गर्दैछन्।
रूपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले प्रतियोगिताको विजेताले गोल्डकप उपाधिसँगै ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने जानकारी दिए। त्यस्तै, उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छ।
प्रतियोगितामा सर्वोत्कष्ट खेलाडीलाई एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिने अध्यक्ष पुनले बताए।
यस्तै, उत्कृष्ट घोषित हुने फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष पुनले बताए।
एन्फाका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला फुटबल संघका पूर्व अध्यक्ष दीर्घबहादुर केसी (कुमार) का अनुसार प्रतियोगिता सम्पन्न गर्न १ करोड ८ लाख रुपैयाँ बढी खर्च अनुमान गरिएको छ।
विगतका प्रतियोगिताभन्दा यसपटक पुरस्कार राशी समेत वृद्धि गरिएको र अन्य खर्च समेत बढेकोले बढी खर्च अनुमान गरिएको केसीले बताए।
गोल्डकप प्रतियोगिताको २० औं संस्करणमा ७ लाख ७७ हजार ७७७ रुपैयाँ पुरस्कार राशी रहेकोमा २१ औं संस्करणमा पुरस्कार राशी बढाएर ८ लाख ८० हजार रुपैयाँ पुर्याइएको थियो।
प्रतियोगिताका लागि तिलोत्तमा गोल्डकपको संरक्षक समेत रहेको बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
प्रतियोगितामा मुख्य प्रायोजक रहेको यशोदा फुड्स प्रालि र त्रिमूर्ति इण्डष्ट्रिज प्रालिसँगै प्रदेश खेलकुद परिषद् छिमेकी पालिकाहरू, उद्योगी व्यवसायीका संघसंस्था, बैंक तथा स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीहरूबाट सहयोग जुट्ने आयोजकले अपेक्षा लिएको छ।
आर्थिक स्रोत अभावकै कारण नियमित हुन नसकेको गोल्डकप प्रतियोगिता बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ।
तिलोत्तमा गोल्डकपको इतिहासलाई हेर्ने हो भने दुई तीन वर्षको अन्तरालमा मात्रै प्रतियोगिता हुँदै आएको छ। ०३३ देखि ०३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ०३९ सालसम्म हुन सकेन।
त्यसपछि ०४३ सालदेखि ०५१ सालसम्म सातवर्ष रोकिएको प्रतियोगिता ०५६ सालमा फेरि रोकियो। ०५७ र ०५८ मा दुई वर्ष लगातार संचालन भए पनि ०६४ सालसम्म सञ्चालन हुन सकेन। त्यसपछि ०६५ सालमा संचालन भए पनि ०६६ मा रोकिएर फेरि ०६७ सालमा संचालन भएको थियो।
०६८ देखि ०७० सालसम्म रोकिएको गोल्डकप ०७१ सालमा संचालन भए पनि पटक ०७२ सालमा संचालन हुन सकेन। ०७३ देखि ०७५ सालसम्म लगातार संचालन भएको प्रतियोगिता पछिल्लो तीन वर्ष संचालन हुन नसके पनि २०७९ सालमा संचालन हुँदै छ।
सुरूआतका प्रतियोगितामा भारतका चर्चित टिमहरूले समेत सहभागिता जनाउँदै आए पनि यसवर्ष नेपालका टिमहरूले मात्र प्रतिष्पर्धा गर्दैछन्। २१ औं संस्करणमा दाउफिन्स एफसि क्यामरूनले सहभागिता जनाउँदै उपाधि समेत जितेको थियो।
२१ वटा संस्करण पूरा हुँदै गर्दा तीन वटा उपाधि पाहुना टोलीले जिते पनि १८ वटा उपाधि भने नेपालकै टिमले जितेका छन्।
आयोजकका अनुसार २०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रूपन्देहीले उपाधि जितेको थियो।
त्यस्तै, दोस्रोमा बम्बई फर्टिलाइजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौंमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैठौंमा कालिका स्पोर्टिङ क्लब र सातौंमा जनकपुर चुरोट कारखाना विजयी भएका थिए।
त्यस्तै, आठौंमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौं र सोह्रौंमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रूपन्देही ११, पन्ध्रौंमा फ्रेन्ड्स क्लब, सत्रौंमा जावलाखेल युथ क्लब, १९ औं मा सिएमसी संकटा क्लब र २० औं संस्करणको उपाधि थ्रिस्टार क्लब काठमाडौंले जितेको थियो।
सबैभन्दा पुरानो मात्र नभई यस क्षेत्रको सर्वाधिक राशी पुरस्कार राखिएकोले तिलोत्तमा गोल्डकप प्रतियोगितालाई यसक्षेत्रका खेलप्रेमीहरूले विशेष पर्वका रूपमा लिँदै आएका छन्।
प्रतियोगिता संचालन हुन १० दिन मात्र बाँकी रहँदा अहिले बुटवल ११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदान सम्याउने र रंगरोगनको कामलाई अगाडि बढाइएको छ।