एसी मिलान ११ वर्षपछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति इंग्लिस प्रतिद्धन्द्धी टोटेनहम हटस्परसँग गोलरहित बराबरीमा रोकिए पनि समग्रमा १–० को जित निकालेको इटालियन क्लब मिलान सन् २०११–१२ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो।
यसअघि मिलानले पहिलो लेगमा टोटेनहममाथि १–० को जित निकालेको थियो। उक्त अग्रता जोगाउँदै मिलान अन्तिम आठमा पुग्यो।
टोटेनहम हटस्पर स्टेडियममा गए राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो।
खेलको ७७ औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटियो। क्रिस्टियन रोमेरो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि त्यसको प्रत्यक्ष फाइदा मिलानले लिन सकेन।
सन् २०११–१२ को सिजनमा मिलान क्वाटरफाइनलमा बार्सिलोनासँग ३–१ ले पराजित हुँदै बाहिरिएको थियो। त्यसयता ११ वर्षपछि पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
प्रतियोगिताको अन्तिम आठको ड्र आगामी मार्च १७ मा स्विट्जरल्याण्डको न्योनमा हुँदैछ।