सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ।
बिहीबार भएको खेलमा मछिन्द्रमाथि आर्मीले २-० गोलको जित हात पारेको हो।
च्यासल मैदानमा भएको खेलमा आर्मीले दुवै गोल दोस्रो हाफमा गरेको थियो।
खेलको ४८ मिनेटमा दीपक गुरुङले गोल गरेका थिए। ५९ मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीबाट गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे।
पहिलो खेलमा बराबरीमा रोकिएको आर्मीले पहिलो जित हात पारेको हो। साविक विजेता मछिन्द्र भने लगातार दोस्रो खेलमा पराजित भयो।
यता एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल युथ क्लबले जित हात पारेको छ।
जावलाखेलले एनआरटीमाथि २-१ गोलको जित निकाल्यो। जावलाखेलका लागि सिमान्त थापाले ६८ मिनेट र फोडे फोफनाले ७७ मिनेटमा गरे।
एनआरटीका लागि सन्जिव विष्टले ८० मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
जारी लिगमा जावलाखेलले लगातार दोस्रो खेलमा जित हात पारेको हो भने एनआरटी लगातार दोस्रो खेलमा पराजित भएको हो।