स्पेनिस क्लब बार्सिलोनालाई भ्रष्टाचारको आरोप लागेको छ।
बार्सिलोनाको एक अदालतले शुक्रबार भ्रष्टाचार, विश्वासको उल्लङ्घन र झुटो व्यापार रेकर्डको आरोपमा क्लबलाई दोषी ठहर गरेको छ।
बार्सिलोनामाथि रेफ्री समितिका पूर्व उपाध्यक्ष जोसे मारिया एनरिकेज नेग्रेरालाई गरेको भुक्तानीमा भ्रष्टाचार गरेको आरोप लागेको हो।
गत महिना बार्सिलोनाले रेफ्री समितिका पूर्व उपाध्यक्ष जोसे मारिया र उनको स्वामित्वमा रहेको कम्पनिलाई ८.४ मिलियन युरो भुक्तानी गरेको खुलासा भएको थियो। बार्सिलोनाले २००१ देखि २०१८ को बीचमा उक्त भुक्तानी गरेको थियो।
बार्सिलोनाको सरकारी वकिलको कार्यालयले उक्त भुक्तानीविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले फैसला सुनाउँदै दोषी ठहर गरेको हो।
यसैबीच ला लिगाका प्रमुख कार्यकारी जाभियर टेबासले गत महिना बार्सिलोनाका वर्तमान अध्यक्ष जोन लापोर्टाले भुक्तानीबारे ब्याख्या गर्न असमर्थ भएमा राजीनामा दिनुपर्ने बताएका थिए।
लापोर्टाले भने आफ्नो क्लबले कहिल्यै रेफ्रीहरू नकिनेको दाबी गरेका छन्।
‘यो स्पष्ट हुनुहोस् कि बार्साले रेफ्रीहरू किनेको छैन र किन्ने मनसाय कहिल्यै राखेको थिएन, बिल्कुल कहिल्यै थिएन,’ उनले भने।
सन् १९९८ र २०१५ को बीचमा खेलाडीको रूपमा आठ ला लिगा उपाधि जितेका बार्सिलोनाका प्रशिक्षक जाभीले आफूलाई भुक्तानीको बारेमा कुनै ज्ञान नभएको र आफ्नो टोलीलाई पनि कुनै फाइदा भएको महसुस नभएको बताएका छन्।
‘म सधैं जित्न चाहन्थेँ, तर निष्पक्ष रूपमा। यदि मलाई हामीले धोका दिइरहेका छौं भन्ने लाग्थ्यो भने म घर गइसेकको हुने थिएँ,’ उनले गत महिना युरोपा लिगमा म्यानचेस्टर युनाइटेडसँग बार्साको २-२ को बराबरीपछि भनेका थिए।