विराटनगरमा सुरु भएको तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा साविक विजेता प्रतिभा फुटबल क्लब गोलबजार, सिराहा सेमिफाइनलमा प्रवेश गरेको छ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको मैदानमा भएको आइतबारको खेलमा द सेभेन युथ क्लब धनकुटलाई २– १ गोलले हराउँदै सिराहा सेमिफाइनलमा पुगेको हो।
जितका लागि सिराहfका सिद्धार्थ लामा र विश्वास राईले गोल गरे। धनकुटाका सन्दिप लिम्बूले एक गोल फर्काए।
धनकुटाविरूद्ध सिराहाका खेलाडीले सुरूदेखि नै लगातार आक्रामक शैली अपनाए पनि पहिलो गोल गर्न २७ मिनेट कुर्नुपर्यो। उद्धव घलेले निकालेको क्रस पासलाई सिद्धार्थ लामाले गोल गरी सिराहालाई अग्रता दिलाएका थिए।
दोस्रो हाफदेखि धनकुटाले सुधारिएको खेल पस्कियो। ४२ औं मिनेटमा धनकुटाका सन्दिप लिम्बुले गोल गरी खेल बराबरीमा ल्याए। इन्जुरी समयको दोस्रो मिनेटमा सिराहाका विश्वास राईले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए। निर्णायक गोल गर्ने सिराहाका विश्वास राई म्यान अफ द म्याच घोषित भए।
सोमबारको खेल आयोजक साइनो स्पोर्ट्स क्लब रानी विराटनगर र सहलेस युवा क्लब सिराहाबीच हुनेछ।