नेपाल आइतबार उत्तरी मारियाना आइल्याण्डलाई ६-० गोल अन्तरले पराजित गर्दै एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
नेपालको जितमा दिपा शाही र सारा बज्राचार्यले दुई–दुई तथा सरस्वती हमाल र जेनिफर रानाले एक–एक गोल गरे।
नेपालले आफ्नो पहिलो खेलमा प्यालेस्टाइनलाई सोही अन्तरले पराजित गरेको थियो।
प्यालेस्टाइनविरुद्ध चार गोल गरेकी शाहीले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। त्यसको दुई मिनेटपछि बज्राचार्यले अग्रता दोब्बर बनाइन्।
१९ औं मिनेटमा शाहीले टोलीको तेस्रो गोल गरिन्।
नेपालका लागि ३०औं मिनेटमा सरस्वती हमालले गोल गरिन्।
४५ औं मिनेटमा बज्राचार्यले दोस्रो गोल गर्दै नेपाललाई ५–० को अवस्थामा पुर्याइन्। इन्जुरी टाइममा जेनिफर रानाले छैटौं गोल थपेकी थिइन् ।