भारतको पञ्जाब एफसीलाई आइ-लिग च्याम्पियन बनाएका नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बू उत्कृष्ट गोलकिपर भएका छन्।
एक साताअघि नै च्याम्पियन बनेको पञ्जाबले आइतवार पञ्चकुलास्थित ताउ देवी लाल रंगशालामा ट्राउ एफसीलाई २-० ले हराउँदै आई-लिग सिजनको अन्त्य गर्यो।
२२ खेलबाट १६ जित, ४ बराबरी र २ हारसहित ५२ अंक जोडेर उपाधि जितेको पञ्जाबले सन् २०१२-१३ मा चर्चिल ब्रदर्सपछि ५० अंकको अंक पार गर्ने पहिलो च्याम्पियन टोली बनेको छ।
यो खेलसँगै भएको पुरस्कार वितरण कार्यक्रममा प्रतियोगताकै उत्कृष्ट गोलकिपरको उपाधि लिम्बूले हात पारेका हुन्।
उनले २ लाख ५० हजार भारतीय रूपैयाँ र ट्रफी हात पारे। गत सिजन पनि किरणले पञ्जाबबाटै खेल्दै सिजनकै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए।
उपाधि विजेता पञ्जाबले १ करोड भारतीय रूपैयाँ हात पारेको छ।
आइ-लिग च्याम्पियन बनेसँगै पञ्जाब इन्डियन सुपर लिगमा बढुवा भएको छ।