अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाही फिफा कंग्रेसका लागि रुवान्डाको किगाली जाने क्रममा विमानस्थलबाटै फर्कन बाध्य भएका छन्।
शाहीका अनुसार यसअघि फिफा कंग्रेसमा जानका लागि उनीसँगै अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राई गरी तीन जनाको नाम सिफारिस भएको थियो। त्यसका लागि आफ्नो नाममा टिकट र भिसा आएको उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
तर विमानस्थलको चेकिङ काउन्टरमा गएपछि मात्र आफ्नो नाम हटाइएको थाहा पाएको शाहीले सामाजिक सञ्जालमा लेखेका छन्। शाहीको स्थानमा केन्द्रीय सदस्य मनिराज विष्ट किगाली गएका छन्।
आफ्नो नाम हटेको थाहा पाएपछि शाही विमानस्थलबाटै फर्कन बाध्य भएका छन्। विमानस्थलबाट फर्कन बाध्य भएपछि शाहीले आफूले अपमानित भएको महसुस गरेको बताएका छन्।
यसविषयमा एन्फाका प्रवक्ता सुरेश शाहसँग बुझ्दा उनले आफूलाई पूर्ण जानकारी नभएको बताए।
‘म पनि पूर्णरुपमा जानकार छैनन। फिफा कंग्रेसमा कसलाई पठाउने भन्ने कुरा सचिवालयले निर्णय गर्ने कुरा हो। अध्यक्षज्यू र महासचिवज्यू बाहिर जानु भएको छ। यद्यपी थप बुझ्ने प्रयासमा छु,’ प्रवक्ता शाहले भने।
पछिल्लो समय उपाध्यक्ष शाही लगायतका केन्द्रीय सदस्यहरुले अध्यक्ष नेम्बाङको विरोध गर्दै आएका छन्। जसका कारण केन्द्रीय समितिको बैठक समेत प्रभावित बन्ने गरेको छ। पछिल्लो कार्यसमितिको बैठकमा ९ जनाले हस्ताक्षर गर्न मानेका थिएनन्।
तर पनि एन्फाले सहायक महासचिव नियुक्तिदेखि आपतकालिन समिति गठन गर्नेसम्मका विभिन्न २० निर्णय गरेको थियो।