सहलेस युवा क्लब सिराहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले हराउँदै सिराहा सेमिफाइनलमा पुगेको हो।
निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि जितको छिनोफानो सडनडेथबाट भएको थियो। टाइब्रेकरमा पनि बराबरीपछि खेल सडनडेथमा धकेलिएको थियो।
सिराहाका यानिक, नविन न्यौपाने, डेनियल, स्यानगियो, निश्चल ठकुरी र दिपसन राईले गोल गरेका थिए। सिराहाका निश्चल लामाको प्रहार साइनोका गोलकिपर प्रज्वल श्रेष्ठले रोके। फोफोनाको प्रहार बाहिरियो।
साइनोको तर्फबाट असिम राई, सन्जय धिमाल, सागर खड्का, कोमल खवास र सुमन मगरले गोल गरेका थिए। साइनक सागर विक, दोर्जे तामाङ र दिवेश मगरको प्रहार सिराहाका गोलकिपर सागर मगरले जोगाए। उनै गोलकिपर मगर खेलको म्यान अफ द म्याच घोषित भए।
साइनोले खेल सुरू भएको एक मिनेटमै सन्जय धिमालको गोलमार्फत अग्रता लिएको थियो। सिराहाका लागि १८ औं मिनेटमा विदेशी खेलाडी यानिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको सिराहाले पहिलो हाफमा गोल गर्ने धेरै अवसर गुमाएको थियो। तर, जित हात पार्न भने उसले सडनडेथ कुर्नुपर्यो।
मंगलबार गाईघाट फुटबल क्लब उदयपुर र विरगंज युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।