गाईघाट फुटबल क्लब उदयपुर मिल्स गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।
मंगलबार विराटनगरमा सम्पन्न खेलमा वीरगन्ज युनाईटेड क्लबलाई टाइब्रेकरमा ४–२ गोलले निराश बनाउँदै गाईघाट सेमिफाइनलमा प्रवेश गरेको हो।
अब गाईघाटले बिहीबार हुने दोस्रो सेमिफाइनलमा साविक बिजेता प्रतिभा फुटबल क्लब सिराहासँग प्रतिस्पर्धा गर्नेछ।
गाईघाटको जितका लागि देवीराज चौधरी, रोशन भुजेल, प्रविण राई र मनिष कटुवालले गोल गरी टिमलाई सेमिफाइनलमा पुर्याए। टाइब्रेकरमा वीरगन्जका शिसाद थापा र विश्वास थापाले मात्र गोल गरेका थिए।
कृपा चौधरी र श्याम चौधरीको प्रहार गाईघाटका गोलकिपर निम छिरिङ्ग शेर्पाले बिफल पारिदिएका थिए। टाईब्रेकरमा दुई गोल सेभ गरिदिने गाईघाटका गोलकिपर शेर्पा म्यान अफ द म्याच घोषित भए।
बुधबारबाट सेमिफाइनलका खेल सुरू हुनेछन्।
पहिलो सेमिफाइनल खेल धुव्रतारा स्पोर्टिङ क्लब झापा र सहलेस युवा क्लब सिराहाबीच हुनेछ।