नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको कीर्तिमानी ह्याट्रिकमा म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को फराकिलो अन्तरले हराउँदै समग्रमा ८–१ को प्रभावशाली जित निकालेर इंग्लिस क्लब सिटीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिए पनि सिटीले दोस्रो लेगमा ७–० को एकपक्षीय जित निकाल्यो।
सिटीलाई एकपक्षीय जित दिलाउन घरेलु मैदान इतिहाद स्टेडियममा हालान्डले ह्याट्रिकसहित ५ गोल गर्दा इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले थप १-१ गोल गरे।
खेलको २२ औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै खेलमा सुरूआती अग्रता लिएको थियो। बेन्जामिन हेनरिचले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा सिटीलाई पेनाल्टी दिएका थिए। त्यसमा हालान्ड चुकेनन् ।
त्यसको दुई मिनेटपछि नै हालान्डले सिटीको अग्रता दोब्बर पारे। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै हालान्डले ह्याट्रिक पूरा गरे।
पहिलो हाफमै ३-० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप आक्रमक खेल्यो। खेलको ४९औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए। ५३औं मिनेटमा हालान्डले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरे।
त्यसको ४ मिनेटपछि हालान्डले व्यक्तिगत पाँचौ गोल गर्दै टोलीलाई ६-० को अग्रता दिलाए। फराकिलो जिततर्फ अग्रसर बनेको सिटीका लागि इन्ज्युरी समयमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई ७–० को सानदार जित दिलाए।
लाइप्जिगविरुद्ध पाँच गोल गरेसँगै नर्वेजियन खेलाडी हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने खेलाडी बनेका छन्। यस्तै उनी च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन्।
गत समर सिटीमा आबद्ध भएदेखि २२ वर्षिय हालान्डले ३६ खेलमा ३९ गोल गरिसकेका छन्। सिटीबाट एकै सिजन यति धेरै गोल गर्ने उनी एक्ला खेलाडी हुन्।
उनले एकै सिजनमा सिटीका लागि सर्वाधिक गोल गर्ने टमी जोन्सनको ९४ वर्ष पुरानो कीर्तिमानसमेत तोडेका छन्।
‘मेरो बलियो बल भनेको गोल गर्नु हो,’ हालान्डले बीटी स्पोर्टसँग भने।
यसअघि अर्जेन्टिनाका लियोनेल मेसी र ब्राजिलका लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गर्ने कीर्तिमान बनाएका थिए।
लाइपजिग बिरूद्ध उनको पाँच गोलपछि च्याम्पियन्स लिग खेलमा सन् २०१२ मा बायर लेभरकुसेन विरुद्ध बार्सिलोनाका लियोनेल मेसी र सन् २०१४ मा बोरिसोभविरुद्ध शाख्तर डोनेट्स्कका लुइज एड्रियानोले गरेको सबैभन्दा धेरै गोलको कीर्तिमानसमेत बराबर गरेका छन्।
हालान्डले २५ च्याम्पियन्स लिग खेलमा ३३ गोल गरिसकेका छन्। २२ वर्ष २३६ दिनको उमेरमा ३० गोलको आँकडा पार गर्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन्। उनी यसअघिका कीर्तिमानी केलियन एम्बाप्पे भन्दा ११६ दिन कान्छा हुन्।