प्रवेश कटुवाल नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले कटुवाललाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।
यस्तै एन्फाले राष्ट्रिय टिमको गोलकिपिङ प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ।
यसअघि एन्फाले मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई नियुक्त गरेको थियो।
भारतको इन्डियन सुपर लिग र आइलिग क्लबको प्रशिक्षक रहेका अल्बर्टोले सोमबार युवा खेलाडीलाई समेटेर टिम निर्माण गर्ने बताएका थिए।
दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुने प्रधानमन्त्री थ्री नेसन्स कपअघि एन्फाले तीन नयाँ प्रशिक्षक भित्र्याएको हो।
कपमा नेपालले भुटान र लाओससँग सिंगल राउण्ड रोबिन ढाँचामा खेल्नेछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिताको टिकट सामान्य प्यारापिटको लागि रु ५०० र भीआईपी प्यारापिटको लागि रु एक हजार तोकिएको छ।
नेपालले उद्घाटन खेल चैत ८ मा लाओससँग खेल्नेछ। नेपाल र भुटानबीच चैत १४ गते हुने खेलअघि लाओसले चैत ११ मा भुटानसँग खेल्नेछ। समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्।
फाइनल चैत १७ मा साँझ ५:३० बजे हुनेछ । सबै खेलहरू मार्चमा फिफा विन्डोमा खेलिनेछन्।