चैत ४ गतेदेखि सुरू हुने बाइसौं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ।
रूपन्देही जिल्ला फुटबल संघले आयोजना गर्ने प्रतियोगिताको उद्घाटन खेलमा रूपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनका अनुसार चैत ११ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागिता रहने छ। जसअनुसार चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपिएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, ८ र ९ गते सेमिफाइनलका खेल हुने छन् भने चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेता टिमले गोल्डकपसँगै ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छ।
त्यस्तै, उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रूपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता अवधिभर उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई समेत जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले जानकारी दिए।
मोफसलमा सर्वाधिक पुरस्कार राशीको तिलोत्तमा गोल्डकप प्रतियोगिताको लागि १ करोड आठ लाख बढी खर्च अनुमान गरिएको छ। विगतका प्रतियोगिताभन्दा यसपटक पुरस्कार राशीसँगै अन्य खर्च समेत बढेको अध्यक्ष पुनले बताए।
गोल्डकप प्रतियोगिताको २० औं संस्करणमा ७ लाख ७७ हजार ७७७ रुपैयाँ पुरस्कार राशी रहेकोमा २१ औं संस्करणमा पुरस्कार राशी बढाएर ८ लाख ८० हजार रुपैयाँ पुर्याइएको थियो।
२०७५ सालमा सम्पन्न २१ औं तिलोत्तमा गोल्डकपको उपाधि विदेशी पाहुना टोली दाउफिन्स एफसि क्यामरूनले जितेको थियो।