ध्रुवतारा स्पोर्टिङ क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
विराटनगर जुट मिल्सको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस युवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै ध्रुवतारा झापा फाइनलमा प्रवेश गरेको हो।
जितसँगै झापाले बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ। साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा र गाईघाट फुटबल क्लब उदयपुरले बिहीबार अन्तिम सेमिफाइनल खेल्दैछन्।
बुधबारको खेलमा निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको थियो।
जितको लागि झापाका निर्जल बोहारा, प्रविण राई, रोशन धिमाल ‘ए’ , गौरव धिमाल र बिक्रम राईले गोल गरी टिमलाई फाइनलमा पुर्याएका थिए।
सिराहका रवि रखल, विदेशी खेलाडी डेनियल, अमन लामा र स्यानगोले मात्र गोल गरेका थिए। सिराहाका विदेशी खेलाडी यानिकको प्रहार झापाका गोलकिपर आयुष लिम्बुले उत्कृष्ट रुपमा बचाए। खेलको म्यान अफ द म्याच झापाका गोलकिपर आयुष लिम्बु घोषित भए।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा झापाका प्रविण राईले खेल सुरू भएको २४ औं मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए। झापाले पहिलो गोल गरेको ११ मिनेट बित्न नपाउँदै ३५ औं मिनेटमा बिक्रम राईले गोल गरी अग्रता दोब्बर बनाए।
सिराहाले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो। ६० औं मिनेटमा सिराहाका अमन लामाले गोल गरी २–१ को अवस्था बनाए। सिराहका यानिकले ७३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
२–० ले पछि परेको अवस्था उल्ट्याउँदै खेलमा पुनरागमन गरेको सिराहा अन्ततः पेनाल्टी सुटआउटमा अभागी सावित भएको थियो।