सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
मनाङले बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई ३-१ गोलले पराजित गरेको हो।
जारी लिगमा दोस्रो जित हात पारेको मनाङले चार मध्ये दुई खेलमा बराबरी खेलेको छ।
बुधबार मनाङको जितमा पहिलो हाफमा रोशन रानामगरले ३९ मिनेटमा पहिलो गोल गरे।
दोस्रो हाफमा मनाङका लागि डाभ्लाटजोनोभले ६९ मिनेटमा दोस्रो गोल गर्दा कोफी टिमोथीले ८७ मिनेटमा तेस्रो गोल गर्न सफल भए।
एनआरटीका अशोक थापाले दोस्रो हाफको इन्जुरी टाइममा गरेको गोल सान्त्वनामा सीमित बन्यो।
यससँगै लिगको चौथो चरणका खेल सकिएका छन्। चौथो चरणसम्म चर्च ब्वाइज १० अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको सातदोबाटोको ९ अंक छ भने तेस्रो स्थानको मनाङको ८ अंक छ।
चौथो स्थानको जावलाखेल युथ, पाँचौ स्थानको एपिएफ र छैटौं स्थानको थ्रीस्टारको समान ७-७ अंक छ।