तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम-११ ले जित हासिल गरेको छ।
बुटवल उपमहानगरपालिका-११ देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा रुपन्देही-११लाई सुदूरपश्चिम-११ले हराउँदै अर्को चरणमा प्रवेश गरेको हो।
सुदूरपश्चिमले ३ गोल गर्दा रुपन्देहीले १ गोलमात्रै गर्न सकेको हो। रुपन्देही १४ औं र १८ औं संस्करणको विजेता रहिसकेको छ। यसपटक भने पहिलो खेलबाटै बाहिरिएको हो।
सुदूरपश्चिमका फागुराम थारुले दुई गोल र स्वाम्या हार्दिकले एक गोल गरेका थिए।
पहिलो हाफको ३१ औं मिनेटमा फ्रि किक मार्फत फागुराम थारुले हानेको बलले जाली चुमेपछि सुदूरपश्चिमको खाता खोलिएको थियो।
दोस्रो हाफको सुरूवाती मिनेटमै प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै हार्दिकले बललाई जाली चुमाउँदै २ शून्यको अग्रता बनाएका थिए।
खेल अवधिभर नै उत्कृष्ट खेल प्रस्तुत गरेका सुदुरपश्चिम ११ का फागुरामले दोस्रो हाफको २४ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई ३ शून्यको अग्रतामा पुर्याए।
दोस्रो हाफमा थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा रुपन्देहीले गोल गर्न सफल भयो। सुदूरपश्चिमको डी एरिया भित्र फउल भएपछि पाएको पेनाल्टीमार्फत रुपन्देहीका फोडे फोफोनाले गोल गरेका हुन्।
उद्घाटन खेलमा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ दी म्याच घोषित भए। थारुले ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरे।
दुई विभागीयसहित आठ टिमले भाग लिएको प्रतियोगिताको विजेता टिमले गोल्डकप उपाधिसँगै ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउने छन्। त्यस्तै उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल तथा विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजार पुरस्कार प्राप्त गर्ने छन्।
हरेक दिनका खेलमा एक जनालाई म्यान अफ दी म्याच घोषित गरी ११ हजार १११ रुपैयाँ प्रदान गरिने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीले जनाएको छ। भोलि आइतबारको खेल हिमालयन शेर्पा र थ्री स्टार क्लब काठमाडौं बीच हुने छ। थ्री स्टार गोल्डकपको २० औं संस्करणको उपाधि विजेता समेत हो।
तस्बिरहरू: