साविक विजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहालाई हराउँदै ध्रुवतारा फुटबल क्लब झापाले मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
विराटनगर जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा सिराहालाई ३–२ गोल अन्तरले हराउँदै झापाले उपाधि हात पारेको हो।
जितका लागि झापाका गौरव धिमालले दुई गोल र प्रविण राईले एक गोल गरेका थिए। सिरहाको तर्फबाट बिनु आलेमगर र विधान लामाले गोल गरेका थिए।
उपाधिसँगै झापाले २ लाख ११ हजार रुपैयाँ पाएको छ। उपविजेता सिराहाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझायो। खेल सुरू भएको १६ औं मिनेटमा झापाका गौरव धिमालले गोल गरी अग्रता दिलाएका थिए। ३७ औंं मिनेटमा झापाका प्रविण राईले अग्रता दोब्बर पारे।
५० औं मिनेटमा सिराहाका बिनु आले मगरले गोल गरी खेललाई २–१ को स्थितिमा ल्याए। सिराहाले गोल फर्काएको पाँच मिनेट बित्न नपाउँदै झापाका गौरव धिमालले मैदानको मध्यभागबाट बललाई एक्लै लगेर सुन्दर गोल गरेर टोलीको जीत निश्चित पारेका थिए।
सिराहाका लागि खेलको इन्ज्युरी समयमा विधान लामाले गोल गरी अन्तर छोट्याएका थिए। प्रतियोगिताको म्यान अफ द फाइनल झापाको गौरव धिमाल घोषित भए।
यस्तै उत्कष्ट गोलरक्षक झापाका आयुष लिम्बु, मिडफिल्डर सिरहाका सुजन पुलामी, डिफेन्स गोलबजारका मुकेस माझी, बेस्ट फरवार्ड झापाका प्रविण राई, उत्कृष्ट कोचमा झापाका सन्दिप मगर घोषित भए। प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापाका प्रविण राई घोषित भए।