ला लिगाअन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ।
आइतबार राति भएको भिडन्तमा रियलमाथि बार्सिलोनाले २-१ को जित निकाल्यो।
खेलको नवौं मिनेटमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोले भिनिसियस जुनियरको क्रस जोगाउने क्रममा आफ्नो पोस्टमा गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा बार्सिलोनाका सेर्जी रोबर्टोले बराबरी गोल फर्काए।
त्यसअघि राफिन्हाको प्रहारलाई रियलले विफल पारेको थियो। दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा फ्रान्क केसिइले गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ। बार्सिलोनाको २६ खेलबाट ६८ अंक छ। दोस्रो स्थानको रियलको ५६ अंक छ भने एट्लेटिको म्याड्रिड ५१ अंकसहित तेस्रो स्थानमा छ।