नामका कारण कोसी प्रदेशमा सुरू भएको आन्दोलनको असर खेलकुद क्षेत्रमा समेत परेको छ।
कोसी प्रदेशको नामकरणसँगै विराटनगर अशान्त बनेको भन्दै भारतीय राजधानी दिल्ली फुटबल क्लबले विराट गोल्डकप फुटबलमा सहभागी हुन नसक्ने बताएको छ।
चैत ९ देखि विराटनगरमा सुरू हुने विराट गोल्डकपमा सहभागी हुने बताएको दिल्ली एफसीले अन्तिम समयमा सहभागी नहुने जानकारी पठाएको प्रतियोगिता आयोजकले जनाएको छ।
दिल्ली एफसीले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले जानकारी दिए।
प्रदेशको नाम कोसी राखेपछि पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन्। यही कारण देखाएर दिल्लीले सहभागिता नजनाउने भएको हो।
विराटनगरस्थित सहिद रंगशालामा चैत ९ गतेबाट हुने रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको विजेताले यसपटकबाट २० लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ।
गत संस्करणमा विजेताले १५ लाख १५ हजार पाएको पुरस्कार राशीमा ५ लाख थप गरेर २० लाख १५ हजार पुर्याइएको हो।
आयोजक विराट गोल्ड कप ट्रष्टका अध्यक्ष बानियाँका अनुसार उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। गत संस्करणमा उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको थियो।
यसपटक विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ, हरेक दिनको प्लेयर अफ दि म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।
प्रतियोगिता हेर्न चाहने दर्शकका लागि टिकेटिङ पार्टनरको रूपमा ‘खल्ती एप’सँग साझेदारी गरेको आयोजकको भनाइ छ। खेल हेर्न आउने दर्शकले घरमै बसेर टिकट लिन सक्ने बानियाँले बताए।
आयोजकले प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकारका साथै विराटनगर महानगरपालिका र निजी क्षेत्रबाट आर्थिक सहयोग हुने आयोजकको अपेक्षा छ।
नेपाली घरेलु फुटबल प्रतियोगिताको इतिहासमा काठमाडौं बाहिर विराटनगरको सहिद रंगशालामा रात्रिकालीन खेल यसअघि पनि आयोजना गरिएको थियो।
२०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूपमा परिवर्तन भएको थियो।
चैत ९ गतेदेखि ९ दिनसम्म चल्ने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालका तीन विभागीय क्लब एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै संकटा, जवलाखेल र घरेलु टोलीको रूपमा विराटनगर सिटी फुटबल क्लबले सहभागिता जनाउने भएका छन्।
यस्तै, भारतको लुका सकर र ड्रुक लयुल फुटबल क्लब भुटान पनि प्रतियोगितामा सहभागी हुने भएका छन्।