बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा विभागीय टिम सशस्त्र प्रहरी क्लब (एपिएफ) लाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको खेलमा फ्रेन्ड्स क्लब कुपन्डोलले एपिएफलाई २-१ गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफमा फ्रेन्ड्स क्लबका दोना थापाले गोल गर्दै क्लबको खाता खोलेका थिए।
खेलको सुरूआतदेखि नै आक्रामक बनेको फ्रेन्ड्स क्लबले दोस्रो हाफको ३८ औं मिनेटमा एक गोल थप्दै दुई शून्यको अन्तरमा पुर्याएका थिए। फ्रेन्ड्सका लागि रफिया एमिनुले दोस्रो गोल गरेका थिए।
दवावमा रहेको एफिएफले इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो। इन्जुरी समयको तीन मिनेटमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै एपिएफका प्रविन स्याङतानले एक गोल गरेका थिए।
सोमबारको खेलमा फ्रेन्ड्स क्लबका दुई र एपिएफका एक गरी तीन जनाले पहेंलो कार्ड पाए।
खेलको पहिलो हाफको ४३ मिनेटमा एपिएफका सुमन श्रेष्ठले पहेंलो कार्ड पाए भने फ्रेन्ड्स क्लबका लक्ष्मण रुचालले दोस्रो हाफको ४० मिनेटमा र सुजल श्रेष्ठले इन्जुरी समयको सात मिनेटमा पहेंलो कार्ड पाएका थिए।
सोमबारको खेलमा फ्रेन्ड्स क्लबका रफिया एमिनु म्यान अफ दी म्याच घोषित हुँदै नगद ११ हजार १११ नगद पुरस्कार प्राप्त गरे।
बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा संचालित प्रतियोगिताको मंगलबारको खेल विभागीय टिम नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ।
जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा संचालित गोल्डकप प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागिता रहेको छ। चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले गोल्डकप सँगै ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
त्यस्तै उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एकलाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन्।