चारपटकको उपाधि विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको मंगलबारको खेलमा मनाङ मर्स्याङ्दीले २-१ को गोलले सेमिफाइनलको यात्रा पक्का गरेको हो।
नेपाल पुलिसले खेल अवधिभर फ्रि किकको लागि पाएका आधा दर्जन बढी अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिन पुग्यो।
पहिलो हाफमा नेपाल पुलिसलाई दबाबमा राखेको मनाङ मर्स्याङ्दीले ३२ मिनेटमा गोल गर्दै आफ्नो पक्षमा खाता खोलेको थियो। मनाङका लागि पहिलो गोल जर्सी नं. २१ का प्रशन्न श्रेष्ठले गरे।
पहिलो हाफको अतिरिक्त समयको दुई मिनेटमा चेतन थारूले गोल गर्दै खेललाई दुई शून्यमा पुर्याएका थिए। थारूले रिवाउन्ड सटमा हानेको बलले जाली चुमेपछि नेपाल पुलिस स्तब्ध बन्यो।
पहिलो हाफ दुई शून्यमा सकिएकोमा दोस्रो हाफमा नेपाल प्रहरीले सान्त्वना एक गोल फर्कायो। दोस्रो हाफको १६ मिनेटमा नेपाल प्रहरीका जर्सी नं. ९ का खेलाडी बुद्धबहादुर तामाङले १८ ह्यार्ड टाढाबाट प्रहार गर्दै बलले जाली चुमाएका थिए।
त्यसपछिको समयमा पाएका फ्रि किकका अवसरलाई सदुपयोग गर्न नसक्दा पाँचौं पटक गोल्डकप उचाल्ने नेपाल प्रहरीको चाहना सेमिफाइनलमा नपुग्दै समाप्त भयो।
पहिलो पटक २०३५ सालमा भएको तेस्रो तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो। त्यसपछि लगातार २०५१ सालमा नवौं र २०५२ सालमा दशौं तिलोत्तमा गोल्डकप जितेको नेपाल प्रहरीले २०५५ सालमा सम्पन्न तेह्रौ गोल्डकप प्रतियोगितामा पनि उपाधि जितेको थियो।
त्यस्तै २०७४ सालमा भएको २० औं र २०७५ सालमा भएको २१ औं तिलोत्तमा गोल्डकपमा उपविजेता बनेको थियो।
२० औं तिलोत्तमा गोल्डकपमा थ्रि स्टारसँग २ शून्यले पराजित भएको नेपाल प्रहरीले २१ औं तिलोत्तमा गोल्डकपमा विदेशी पाहुना टोली दाउफिन्स एफसी क्यामरूनसँग सडन डेथमा पराजित भएको थियो।
मनाङ मर्स्याङ्दीले भने अहिलेसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेको छैन। पहिलो चरणमा नेपाल प्रहरीलाई पराजित गरेको मनाङ मर्स्याङ्दीले सेमिफाइनलमा बिहीबार फ्रेन्ड्स क्लबको सामना गर्नुपर्ने छ।
आइतबारको खेलमा नेपाल सशस्त्र प्रहरी क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा पुगेको थियो।
यस्तै बुधबार गोल्डकपको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम ११ र थ्री स्टार क्लबका बीच हुनेछ।
सुदुरपश्चिमले उद्घाटन खेलमा रूपन्देही ११ लाई हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो भने थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई पराजित गरी सेमिफाइनलमा पुगेको थियो।
जिल्ला फुटबल संघ रूपन्देहीको आयोजनामा सञ्चालित गोल्डकप प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागिता रहेको छ।
चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले गोल्डकप सँगै ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
त्यस्तै उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एकलाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन्।