प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज साँझ लाओससँग खेल्दैछ।
साँझ ६ बजे दशरथ रंगशालामा प्रतियोगिताको उद्घाटन खेल हुन लागेको हो।
प्रतियोगितामा नेपाल र लाओससँगै भुटानको रहेको छ। फिफा वरियतामा नेपाल १७५, भुटान १८५ र लाओस १८७ स्थानमा छन्।
नेपालले दुवै टिमसँग अहिलेसम्म पराजय भोग्न परेको छैन।
गत डिसेम्बरमा लाओसले बलियो मानिएको म्यानमारसँग २-२ गोलको बराबरी खेलेको थियो। त्यसयता लाओसले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।
भुटानले भने तीन वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। सन् २०१९ यता भुटानले अन्तर्राष्ट्रिय खेल खेलेको छैन।
नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ।
समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्। फाइनल चैत १७ मा साँझ ५:३० बजे हुनेछ।
पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो टिम घोषणा गरेका थिए। टिममा सात खेलाडीले पहिलो पटक स्थान बनाए।
पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार लामा तथा फरवार्डद्वय सुमित श्रेष्ठ र दीपकसिंह ठकुरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।
नेपाली राष्ट्रिय टिमका दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भएपछि एकैपटक सात जना नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका हुन्।
अन्तिम टोली
गोलकिपरः किरण कुमार लिम्बु (पञ्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), अभिषेक बराल (सातदोबाटो)
डिफेन्डरः सनिश श्रेष्ठ (एपिएफ), विकास खवास (आर्मी), अनन्त तामाङ (चर्च ब्वाइज), पदम भट्टराई (खुमलटार), आदित्य चौधरी (जावलाखेल), निशान्त खड्का (संकटा)
मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नवीन लामा (एपिएफ), रोहित चन्द (पर्सिक केदिरी), कमल थापा (मनाङ), मणिकुमार लामा (एपिए), भरत खवास (आर्मी)
फरवार्डः आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकसिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), आशिष चौधरी (चर्च ब्वाइज), सुमित श्रेष्ठ (मनाङ) मनिष डाँगी (संकटा)