निर्धारित समय सकिन ९ मिनेट मात्र बाँकी रहँदा फागुराम थारुले गरेको एकमात्र गोलसँगै सुदुरपश्चिम ११ तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको छ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्री स्टारविरूद्ध फागुरामले ८६ औं मिनेटमा गरेको एकमात्र गोल नै सुदूरपश्चिमलाई फाइनलमा पुर्याउने निर्णायक गोल बन्न पुग्यो।
दुबै टिमको फितलो प्रस्तुतिका कारण पहिलो हाफमा कुनै गोल हुन सकेन। दोस्रो हाफमा केही सुधारिए पनि सुदूरपश्चिमका अगाडि थ्री स्टारले कुनै पनि गोल गर्न सकेन।
अन्ततः २०७४ सालमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकपको विजेता थ्री स्टार क्लब २२ औं संस्करणमा भने सेमिफाइनलबाटै बाहिरिनु पर्यो।
बुधबारको खेलमा सुदूरपश्चिम ११ का बिष्णु चौधरी म्यान अफ द म्याच घोषित हुँदै ११ हजार १ सय ११ रुपैयाँ र यति हेल्मेट पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको विजेताले गोल्डकप उपाधिसँगै ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ। उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन्।