डिफेन्डर अनन्त तामाङले पाँच वर्षपछि राष्ट्रिय फुटबल टिमका लागि गोल गर्न सफल भए।
अनन्तले बुधबार दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत लाओसविरुद्ध गोल गरे।
नेपालले २-० गोलले जितेको खेलमा ३० मिनेटमा गोल गरेका अनन्तको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो।
पाँच वर्षअघि साफ च्याम्पियनसिपमा भुटानविरुद्ध गोल गरेका अनन्तले सन् २०१६ मा पहिलो अन्तर्राष्ट्रिय गोल लाओसविरुद्ध नै गरेका थिए।
बुधबार लाओसलाई २-० गोलले पराजित गरे पनि अनन्त नेपाली टिमको प्रदर्शनमा सन्तुष्ट छैनन्।
'हामीले कोचको रणनीतिअनुसार नै खेल्यौं र गोल गर्न सफल भयौं। खुसी लागिरहेको छ,’ अनन्तले भने ‘समग्रमा हाम्रो सन्तोषजनक प्रदर्शन छैन। किनभने हामीसँग तयारीका लागि धेरै समय पनि थिएन। त्यस्तै टिममा धेरै नयाँ खेलाडी थिए। सोचेअनुसार खेल्न सकेनौं। पोजिसनवाइज लाओसले डोमिनेट गरेको थियो। तर हाम्रो राम्रो डिफेन्स थियो। बल पोजिसन राख्न नसके पनि रिजल्ट हाम्रो हातमा आएको छ।’
कपमा नेपालले अब दोस्रो खेलमा चैत १४ मा भुटानसँग खेल्दैछ। भुटानसँग खेल्नुअघि उनले टिमको प्रदर्शनमा सुधार आउनु जरुरी रहेको बताए।
‘भुटान पनि राम्रो टिम हो। हामीले टिमको संयोजन मिलाउनु पर्छ। हामीले भाग्यवस आज दुई गोल गरे पनि आक्रामक खेल्न सकेका छैनौ। भुटानसँग यतिले पुग्दैन, हामीले अझै सुधार गर्नुपर्छ,’ उनले भने।
नेपाली राष्ट्रिय टिमका दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भएपछि प्रतियोगिताका लागि ६ जना नयाँ अनुहारले राष्ट्रिय टिममा स्थान बनाएका छन्। बुधबार लाओसविरुद्ध चार जनाले डेब्यू समेत गरे।
टिममा नयाँ खेलाडी हुँदा संयोजन मिलाउन कठिन भइरहेको अनन्तले बताए।
उनले भने, ‘आज हाम्रो कम्बिनेसन मिलेको थिएन। किनभने अधिकांस खेलाडी बाहिर जानु भएको छ। त्यसैले गाह्रो भइरहेको छ। तर पनि राष्ट्रिय टिम हो, युवाले मौका पाएका छन्। बिस्तारै टिम संयोजन मिलाएर भविष्यका प्रतियोगितामा राम्रो गर्नेछौं।’