राजधानीको दशरथ रंगशालामा मात्रै सम्भव हुँदै आएको रात्रीकालीन फुटबलको २०७४ मा विराटनगरले आयोजना गरेर नयाँ सम्भावना देखाएको थियो।
अरुबेला सिला खोजेको झैं भन्न मिल्ने दर्शक सहभागितामा हुने विराटनगरको फुटबलमा २०७४ को रात्रीकालीन विराट गोल्डकपले नयाँ आशा सन्चारित गरेको थियो। व्यवस्थापन गर्नसमेत हम्मे पर्ने दर्शकको उपस्थितिले मोफसलको फुटबललाई नयाँ उचाइ दिएको थियो।
यसरी हजारौं दर्शकलाई रंगशालासम्म डोर्याउन सफल मानिएको विराट गोल्डकपको रात्रीकालीन फुटबलको तेस्रो संस्करण बिहीबारदेखि फेरि सुरु हुँदैछ। अबको एक साता विराटनगरको रात्रीकालीन माहोल फुटबलमय बन्ने आशा यहाँका फुटबलकर्मीको छ।
जाडोमा ज्यादै जाडो र गर्मीमा उस्तै हपहपी विराटनगर जस्तो सुदूर दक्षिणी शहरको मौषमी विशेषता हो। अझ उद्योगन्दाको भीड, यातायातका साधन र मानव आवादीको सघन उपस्थितिले गर्मी महिनामा विराटनगर खपिनसक्नुगरी तातिन्छ। यस्तो उखुमै गर्मी हुने ठाउँमा गर्मी यामको चर्को घाममा हुने फुटबलले खेलाडी र दर्शक दुवैलाई सताउँथ्यो। तर, रात्रीकालीन फुटबलले विराटनगरको फुटबल इतिहासलाई नयाँ दिशा दिएको थियो।
‘नेपाली फुटबल इतिहासकै सबैभन्दा भव्य र ठूला प्रतियोगिताहरू विराटनगरले आयोजना गरिसकेको छ’, पूर्व फुटबलर तथा रेफ्री किरण गिरी भन्छन् ‘तर, राति हुने प्रतियोगिताको चार्म बेग्लै हुनेरहेछ। राति सबै फुर्सदमा हुने भएपछि फुटबल हेर्न मैदान आउने धेरै हुँदारहेछन्। २०७४ पछि हामीले देखेको र अनुभव गरेको तथ्य यही हो।’
रात्रीकालीन र दिवाकालीन फुटबलको अन्तरको व्याख्या गर्न गिरीले यसअघिका दुई वटा प्रतियोगितालाई दाँजे।
२०७४ र २०७५ को बीचमा विराटनगरस्थित सहिद मैदानमा दुई वटा ठूला फुटबल प्रतियोगिता आयोजना भएका थिए। २०७४ को चैतमा आयोजना भएको विराट गोल्डकप र २०७५ को चैतमा आयोजना भएको महिला साफको पाँचौ संस्करणले फरक पेश गरेको थियो। स्वदेशका विभिन्न क्लबहरु सहभागी विराट गोल्डकपमा दर्शकको भीड थामिनसक्नु थियो। तर, दक्षिण एशियाका महिला टिम सहभागी साफका खेलहरु भने दर्शकविहीन झैं थिए।
त्यसबेलै पूर्वका फुटबलकर्मीहरुको निष्कर्ष थियो, विराट गोल्डकपमा अधिक दर्शक सहभागिता र साफमा भएको न्यून सहभागिताको मुख्य कारण समय थियो। विराट गोल्डकप २०७४ मा पहिलोपटक रात्रीकालीन समयमा खेलाइएको थियो। अस्थायी फ्लड लाइटको उज्यालोमा आयोजना भएको त्यो प्रतियोगितामा आयोजकलाई दर्शक व्यवस्थापन चुनौतीपूर्ण बन्दा वर्षदिनपछिको साफमा भने दर्शक ज्यादै कम्ती थिए।
‘वर्किङ आवरमा फुटबल प्रतियोगिता आयोजना हुँदा दर्शक सहभागिता ज्यादै कम हुने दृष्टान्त त्यसबेला प्रत्यक्ष अनुभव गर्न पाइएको थियो’ गिरीले सुनाए ‘तर, राति आयोजना गर्दा सामान्य रुची भएका दर्शक पनि मैदानसम्म आउनेरहेछन्। अधिक दर्शकको सहभागिताले खेलाडी, आयोजक र खेल पर्यटनमा ठूलो टेवा पुग्नेरहेछ।’
बिहीबार रातिबाट सुरु हुने विराट गोल्डकपको अर्को संस्करणले पनि संघीय राजधानी बाहिरको फुटबल माहोल तताउने आयोजकको विश्वास छ।
‘विराट गोल्डकपको नयाँ संस्करणले यहाँको खेल संस्कारमा नयाँ योगदान गर्ने कुरामा ढुक्क छौं’, विराट गोल्डकप आयोजक समितिका संयोजकसमेत रहेका विराटनगर महानगरका मेयर नागेश कोइरालाले भने ‘दैनिक हजारौं दर्शकको उपस्थितिमा हुने प्रतियोगिताले यहाँको खेलकुद मात्रै होइन, व्यापार, खेल पर्यटनमा पनि सघाउनेछ।’ मेयर कोइराला पनि प्रतियोगिताको प्रमुख विशेषता रात्रीकालीन समय नै भएको बताउँछन्। ‘पहिले रातिको फुटबल हेर्न काडमाडौंमा मात्रै सम्भव थियो’, उनले थपे ‘केही वर्षयता विराटनगरमा सम्भव भएको छ। यसले फुटबलमा जनसभागिता कयौं गुणा बढाउने रहेछ।’
नेपालमा आयोजना हुने पुराना प्रतियोगिताहरुमध्येको एक थियो महेन्द्र गोल्डकप। २०६२–२०६३ को जनान्दोलनपछि राजतन्त्र ढल्यो। जसै राजतन्त्र ढल्यो, नागरिक स्तरबाटै राजाका नाम जोडिएका सम्पदाका नाम फेरिन थाले। राजाहरुका शालिक ढल्न थाले। त्यही चेतले महेन्द्र गोल्डकपलाई पनि विराट गोल्डकपमा रुपान्तरण गर्यो।
विसं २०१८ सालमा तत्कालीन बडाहाकिम दामोदर शमशेरले राजा महेन्द्रको नाममा ‘श्री ५ महेन्द्र गोल्डकप’ स्थापना गरेर विराटनगरमा आयोजना गरेका थिए। २०६८ सालबाट ‘महेन्द्र गोल्डकप’ ‘विराट गोल्डकप’ मा बद्लियो। ‘महेन्द्रको नाममा भन्दा विराटमा स्थानीयबासीले अपनत्व महसूस गरे’, पूर्वरेफ्री किरण गिरीले थपे ‘नामले पनि मान्छेहरुमा अपनत्वको महसूस हुँदोरहेछ।’
२०६८ मा नाम बदलिएर सुरु भएको प्रतियोगिता आयोजकहरु अनेक दुःख गर्थे तर मैदानमा दर्शक अपेक्षाकृत रुपमा आउँदैन थिए। जे जसरी भए पनि विराट गोल्डकपको आयोजनाको परम्परा धानिएको थियो।
२०७४ चैत्र १७ देखि सुरु भएको विराट गोल्डकप पहिलोपटक रात्रीकालीन समयमा भयो। त्यो प्रतियोगिताका संयोजक रहेका हाल मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल सम्झिन्छन् ‘रातिको समयमा आयोजना गरिएको त्यो प्रतियोगिताले विराटनगरको फुटबल इतिहासको मुहार नै फेरेको थियो। अकल्पनीय दर्शक उपस्थिति, शान्त र सभ्य रुपमा प्रतियोगिता सम्पन्न हुँदा यहाँ डे–नाइट स्पोर्ट्स सिटी बनाउन सकिने सम्भावना देखियो।’
एक महिना मात्र बाँकी थियो, प्रतियोगिता आयोजना गर्नका लागि एक सय फिटको स्टिलको पोल लगाउन आर्थिक समस्याका कारण सम्भव थिएन । त्यसबेला बाँसको पोलमा लाइट जडान गर्ने सहमति भयो। र, मैदानमा उज्यालो छरियो।
रिजालका अनुसार त्यसबेला नेपालमा फ्लड लाइट सम्बन्धी प्राविधिक ज्ञान भएको जनशक्ति ज्यादै कम थियो। ‘लाइट नपुगेर नेदरल्याण्डबाटसमेत मगाएका थियौं’, उनले भने ‘ अहिले प्रदेश सरकारले स्थायी लाइटको प्रबन्ध गरेपछि सहज भएको छ।’
उनका अनुसार ६ हजार ५ सय क्षमताको रंगशालामा क्षमताभन्दा धेरै बढी दर्शक प्रवेश गर्ने गरेका छन्। आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक विराटनगर सिटी फुटबल क्लव र नेपाल प्रहरीबीच हुँदैछ।
फाइनल खेल १६ गते हुने प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ। आयोजकले गत संस्करणमा १५ लाख १५ हजार रहेको पुरस्कार राशीमा ५ लाख वृद्धि गरेर २० लाख १५ हजार पुर्याएको हो। आयोजक विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। गत संस्करणमा उपविजेताले ७ लाख ५१ हजार प्राप्त गरेको थियो। नेपालका ए डिभिजन र भारत तथा भूटानका टोलीहरु पतियोगितामा सामेल हुनेछन्।