टाइब्रेकरमार्फत् ४–३ गोल अन्तरले फ्रेन्ड्स क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब २२ औं तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको छ।
बिहीबार भएको खेलमा निर्धारित समयमा दुबै टिमबाट दुई/दुई गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
टाइब्रेकरमा फ्रेन्ड्स क्लबका कप्तान दोर्ण थापाको प्रहारलाई मनाङ मर्स्याङ्दीका गोलकिपर जियारथ शेखले बचाउ गरे भने रूपेश केसीको प्रहार गोलपोष्टको बारमा लागेर फर्किएको थियो।
त्यसअघि खेलको पहिलो हाफको सातौं मिनेटमा रफिक अमिनुले एक गोल गर्दै फ्रेन्ड्स क्लबको पक्षमा खाता खोलेका थिए।
निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफकै २६ औं मिनेटमा फ्रेन्ड्स क्लबका लक्ष्मण रुचालको क्रसमा उत्तम राईले उत्कृष्ट गोल गर्दै खेललाई दुई शून्यको अन्तरमा पुर्याएका थिए।
दुई गोल खाएको मनाङ मर्स्याङ्दीले पहिलो हाफको अन्त्यमा खेललाई सुधार्दै एक गोल गर्दै दुई एकमा पुर्यायो। मनाङ मर्स्याङ्दीका आशिष गुरूङले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए।
दोस्रो हाफको सुरूआतदेखि नै आक्रामक बनेको मनाङ मर्स्याङ्दीले दुई मिनेटमै अर्को गोल गर्दै खेलमा कमव्याक गर्यो। मनाङका लागि दोश्रो गोल प्रशन्न श्रेष्ठले गरेका थिए।
त्यसपछि निर्धारित अवधीभरी दुबै टिमबाट गोल थप हुन सकेनन्। अन्ततः खेल टाइब्रेकरमा धकेलियो। बिहीबारको खेलमा पराजित भएसँगै २०५८ सालमा भएको पन्ध्रौं तिलोत्तमा गोल्डकपको उपाधि विजेता बनेको फ्रेन्ड्स क्लबको यसपटक उपाधिको लागि लड्ने सपना अधुरै रह्यो।
मनाङ मर्स्याङ्दीले अब उपाधिको लागि शनिबार सुदूरपश्चिम ११ सँग भिड्नु पर्ने छ। बुधबारको खेलमा थ्री स्टारलाई हराउँदै सुदूरपश्चिमले फाइनलको स्थान तय गरेको हो।
बिहीबारको खेलमा मनाङ मर्स्याङ्दीका आशिष गुरूङ म्यान अफ द म्याच घोषित हुँदै ११ हजार १ सय ११ रुपैयाँ र यति हेल्मेट पुरस्कार प्राप्त गरे।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको विजेताले गोल्डकप उपाधिसँगै ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ।उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन्।