घरेलु टिम 'विराटनगर सिटी' सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरूआत गर्दै सेमिफाइनलमा पुगेको छ।
सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का पारेको हो।
जितमा विराटनगर सिटीका आशिष श्रेष्ठ नायक भए। निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयको ११७औं मिनेटमा विराटनगर सिटीका आशिष श्रेष्ठले निर्णायक गोल गरे। दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरेका हुन्। खेलको १०३ मिनेटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिषले टिमको जितका लागि निर्णायक गोल गरेका हुन्।
पहिलो हाफसम्म पुलिसले विराटनगर सिटीलाई दबाबमा राखेको थियो। निर्धारित समयसम्म प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो। प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो।
पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो। पूर्वविजेता प्रहरीले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
खेलको पाँचौं मिनेटमा पुलिसका बुद्ध लामाको प्रहार विराटनगरका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाए। १८औं मिनेटमा पुलिसका रविशंकर पासवानको प्रहार बारमा लागेर फर्किएको थियो। २४औं मिनेटमा विराटनगरका अभिषेक गुरूङको प्रहार पुलिसका गोलरक्षक संजीव श्रेष्ठले उत्कृष्ट बचाए।
२८ मिनटेमा पुलिसका ओसेन्द्र कटुवालले ३० यार्डदेखि गरेको प्रहार बाहिरयो। ४१औं मिनेटमा पुलिसका रवि शंंकर पासवानले पेनाल्टी एरियादेखि गरेको प्रहार पोस्टमाथिदेखि बाहिरिँदा गोल हुनबाट चुक्यो।
दोस्रो हाफपछि विराटनगर सिटी केही सुन्दर मुभहरू बनाउन सफल रह्यो। ५५औं मिनेटमा अभिषेक गुरूङको प्रहार बाहिरियो। ८३ औं मिनेटमा पुलिसमा भरत साहले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल हुनबाट चुक्यो। ८४ औं मिनेटमा विराटनगर सिटीका युता सुजिकीले ३० यार्डदेखि गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो। ८८औं मिनेटमा पुलिसका रविशंकर पासवानको सशक्त प्रहार बाहिरियो। ९०औं मिनेटमा विराटनगर सिटीका सन्देश विकले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल हुनबाट चुक्यो।
सय मिनेटमा विराटनगर सिटीका अभिषेक गुरूङले ३० यार्डदेखि गरेको प्रहार फितलो भएको थियो।
१०५ मिनेटमा पुलिसका भरत साहले वान भर्सेस वानको अवसर सदुपयोग गर्न सकेनन्। लगत्तै पुलिसका रविशंकरले डिफेन्डरलाई बिट मार्दै निकालिदिएको क्रस पासलाई भरत साहले अघि बढाएको बल सदुपयोग गर्न सकेनन्। ११३औं मिनेटमा विराटनगर सिटीका अभिषेक गुरूङले निकालेको पास पेनाल्टी एरियाबाट दिवाकर चौधरीले गरेको हेडिङ पुलिसका गोलरक्षक संजीव श्रेष्ठले विफल पारिदिए।
प्रतियोगिताको म्यान अफ द म्याच विराटनगर सिटीका उत्सव राई घोषित भए। उनले नगद २५ हजार रूपैयाँ पाए।
शुक्रबार नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता छ। प्रतियोगिताको विजेता टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रूपैयाँ पुरस्कार पाउने छन्।
गोल्डकपको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए। उनले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार लागि पर्ने बताए। खेलकुदको विकास प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए।