पाहुना टोली भुटानको ड्रुक लयुल फुटबल क्लबलाई २-१ ले स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपिएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
विराटनगरस्थित सहिद मैदानको फ्लड लाइटमा शनिबार राती भएको तेस्रो क्वार्टरफाइनल खेलमा भुटानलाई २–१ गोलले हराउँदै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
एपिएफका लागि सविन थापा र अरमान्द्र वेडमले गोल गरेका थिए। भुटानका लागि ट फोफोना इब्राहिमले एक गोल फर्काएका थिए।
जितसँगै एपिएफले आइतबार अन्तिम क्वार्टरफाइनको विजेतासँग खेल्नेछ। आइतबार भारतको लुका सकर र ए डिभिजन टिम संकटा क्लबबीच खेल हुनेछ।
शनिबारको खेल सुरू भएको तेस्रो मिनेटमा एपिएफका सविन थापाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए। ३३औं मिनेटमा भुटानका फोफोना इब्राहिमले गोल गरी खेल १–१ को बराबरीमा ल्याए। कप्तान स्यांगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो।
पहिलो हाफसम्म १/१ गोलको बराबरी भएको खेलको दोस्रो हाफदेखि एपिएफले आक्रमक खेल पस्कियो।
इन्जुरी समयमा पेनाल्टी एरियामा भुटानका खेलाडी कान्टे मुसाको हेन्ड भएपछि एपिएफले पेनाल्टी पाएको थियो।
पेनाल्टीमा एपिएफका अरमान्द्र वेडमलले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए।
हेन्ड गर्ने भुटानका कान्टे मुसालाई रेफ्री श्याम दनुवारले रेड कार्ड दिएपछि मैदानबाट बाहिरिए। निर्णायक गोल गर्ने एपिएफका अरमान्द्र बेडम म्यान अफ द म्याच घोषित भए।