जोसेलुले अन्तर्राष्ट्रिय डेब्यु खेलमा दुई मिनेट भित्रै दुई गोल गरेपछि युरो २०२४ को छनोटमा स्पेनले नर्वेलाई ३-० गोल अन्तरमा हराएको छ।
मालागाको ला रोजालेडा स्टेडियममा गएराति न्युक्यासल र स्टोकका पूर्व स्ट्राइकर ३२ वर्षीय जोसेलुले दुई मिनेट भित्रै दुई गोल गरेका थिए।
स्पेनलाई जिताउन थप गोल ड्यानी ओल्मोले गरे। अलेजान्ड्रो बाल्डेको कट ब्याकमा खेलको १३ औं मिनेटमा गोल गर्दै स्पेनले सुरूआती अग्रता लियो। पहिलो हाफसम्म १-० ले अघि रहेको स्पेनले खेलको ८४ औं मिनेटमा परिवर्तित खेलाडी जोसेलुले गोल गर्दै अग्रता दोब्बर पारे।
८१औं मिनेटमा कप्तान अल्भारो मोराटाको स्थानमा मैदान छिरेका जोसेलुले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै स्पेनलाई जित दिलाएका हुन् । ८४ औं मिनेटमा फावियन रुइजको पासमा गोल गरेका जोसेलुले त्यसको एक मिनेटपछि नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल थपेका थिए।
डेब्यु गरेका ३२ वर्षीय जोसेलु सन् २००६ पछि स्पेनबाट डेब्यु गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन् । यो सिजन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका जोसेलुलाई प्रशिक्षक लुईस डेला फुइन्टेले डेब्युको मौका दिएका थिए।
यो जितसँगै स्पेनले युरो छनोटको समूह ‘ए’ मा ३ अंक जोडेको छ । नर्वे अंकविहिन छ। यहीँ समूहको अर्को खेलमा स्कटल्यान्डले साइप्रसलाई ३–० ले हराएको छ। स्पेनले आफ्नो अर्को खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ।