पाहुना टोली भारत केरलाको 'लुका सकर क्लब' सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा ८–७ गोलले निराश बनाउँदै लुका सकरले सेमिफाइनल यात्रा तय गरेको हो।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा पनि दुवै टिमले गोलरहित बराबरी खेलेपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए। त्यसपछि खेल सडनडेथमा पुग्यो।
भारत केरलाको जितसँगै विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। केरलाले अब फाइनल प्रवेशका लागि चैत १४ गते साविक विजेता एपिएफसँग खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल युथ क्लबको सामना गर्नेछ।
संकटाले २०६९ सालमा दोस्रो संस्करणको विराट गोल्डकपको उपाधि हात पारेको थियो।