जावलाखेल युथ क्लब, काठमाडौंको चुनौती २–१ ले समाप्त पार्दै विराटनगर सिटी एफसी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
सोमबार राति विराटनगरस्थित सहिद मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक टिम विराटनगरलाई उपाधि नजिक पुर्याउन स्टेफन विनोङ र अभिषेक गुरूङले गोल गरेका थिए। जावलाखेलका लागि अन्तिम समयमा हिसुब थपलियाले एक गोल फर्काए पनि उनको गोल टिमलाई खेलमा जीवित राख्न सहयोगीसिद्ध भएन।
सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेसँगै आयोजक टोलीले तेस्रोपटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो। अब विराटनगरले मंगलबार हुने सशस्त्र प्रहरीको एपिएफ र भारत केरलाको लुका फुटबल क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ।
आयोजक विराटनगरले सेमिफाइनल खेलमा विमल घर्ती मगर, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ लगायतका स्टार खेलाडी मैदानमा ओरालेको थियो। अहिले राष्ट्रिय टोलीभन्दा बाहिर रहेका यी खेलाडीले मैदानमा प्रभाव देखाउँदा विराटनगर फाइनल प्रवेश गर्न सक्षम बनेको हो।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका दुवै टोलीले गोलका केही निश्चित अवसर खेर फ्याँकेका थिए। पहिलो हाफमा धेरै अवसर सिर्जना गरेको जावलाखेल फिनिसिङमा चुकेको थियो। विराटनगरले भने पहिलो हाफमा विपक्षी पोस्टमा उल्लेख्य चुनौती प्रस्तुत गर्न सकेन।
खेलको ५९ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन विनोङले गोल गरी टिमलाई अग्रता दिलाएका थिए। विमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले पन्च गरेर मैदानतिर बल फाल्दिएपछि सोही बललाई स्टेफनले प्रहार गरेर जाली चुमाएका थिए।
८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्ती मगरले नै दिएको क्रस पासलाई सदुपयोग गर्दै अभिषेक गुरूङले पेनाल्टी बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए। उनको गोलसँगै विराटनगर २–० ले अघि थियो।
खेलको इन्जुरी समयमा जावलाखेलका हिसुब थपलियाले एक गोल फर्काएका थिए। त्यस बेलासम्म समय धेरै घर्किसकेको थियो। केहीबेरमै खेल समाप्तीको सिठ्ठी बजेपछि जावलाखेल स्तब्ध हुन पुग्यो।
सुरूदेखि अन्त्यसम्म पाएका सुन्दर अवसर सुदपयोग गर्न नसक्दाको परिणाम स्वरूप जावलाखेलको फाइनल यात्रा रोकिएको थियो।
यसअघि ९ औं मिनेटमा विराटनगर सिटीका विमल घर्ती मगरले डिबक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर अनिस देउलाले उत्कृष्ट ढंगले बचाएका थिए। १७ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी एनकोटो वान भर्सेस वानको अवस्थामा गोल गर्नबाट चुके। उनले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर विशाल श्रेष्ठले विफल पारिदिए।
त्यसलगत्तै एनकोटोले निकालको क्रस पासलाई हिसुब थपलियाले पेनाल्टी एरियाबाट प्रहार गरेका थिए। त्यसलाई गोलकिपर श्रेष्ठले पन्च गरेर मैदानतिर पठाइदिए।
५३ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडी फोफोनाले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विशालले विफल पारिदिए। ७० औं मिनेटमा विराटनगरका अभिषेक गुरूङले गरेको कडा प्रहार बाहिरिँदा थप गोलको अवसर खेर गयो।
खेलको अन्त्यतिर ८९ औं मिनेटमा जावलाखेलका कप्तान सिमन्त थापाको प्रहार बाहिर गएको थियो। म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन विनोङ घोषित भए। उनले नगद ११ हजार रूपैयाँ पाए।