डिफेन्डर बेन्जामिन पाभार्डले टोलीमा शानदार पुनरागमन गरेपछि फ्रान्सले युरो छनोटमा लगातार दोस्रो जित निकालेको छ।
गएराति भएको खेलमा फ्रान्सले आयरल्याण्डलाई उसकै मैदानमा १-० गोल अन्तरले हरायो। फ्रान्सको जितमा खेलको ५० औं मिनेटमा पाभार्डले निर्णायक गोल गरे।
पहिलो हाफमा फ्रान्सलाई नियन्त्रणमा राखेको आयरल्याण्ड दोस्रो हाफको सुरूआतमै पछि पर्यो। गत वर्षको विश्वकपमा निराशाजनक सुरूआती खेलपछि बाहिरिएका पाभार्डले टोलीमा मौका पाउँदा सानदार प्रदर्शन गर्दै निर्णायक गोल गरेका हुन्।
विश्वकपमा अस्ट्रेलियाविरुद्धको खेलपछि विश्वकपमै टोलीबाट बाहिरिएका पाभार्ड जुलेस काउन्डेको सट्टामा राइट ब्याकको रूपमा मैदान छिरेका थिए। उनले १८ यार्ड टाढाबाट गरेको प्रहारले जाली चुमेको थियो।
फ्रान्सका नियमित कप्तान ह्युगो लोरिसको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएपछि नम्बर एकको गोलकिपरको जिम्मेवारी सम्हालेका माइक मैगनानले खेलको अन्तिम मिनेटमा शक्तिशाली प्रहार बचाएपछि घरेलु टोलीले बराबरी गोल गर्ने मौका गुमायो।
यसअघि स्टेड डे फ्रान्समा उनले पेनाल्टीसमेत रोकेका थिए। यो जितपछि समूह बीमा रहेको फ्रान्सले लगातार दोस्रो जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा कायमै छ। जिब्राल्टरलाई हराएको ग्रिस दोस्रो स्थानमा छ।
यस्तै २ खेलबाट ३ अंक जोडेको नेदरल्याण्ड तेस्रो स्थानमा छ। अंकविहिन आयरल्याण्ड र जिब्राल्टर पुछारमा छन्।