सातदोबाटो युथ क्लबलाई २-१ ले हराउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ।
पहिलो हाफमा बनाएको अग्रता जोगाउन सातदोबाटो सिमरा रङ्गशालामा पहिलो सहभागितामै निराश बन्न पुग्यो।
पहिलो हाफको ३५ औं मिनटमा सातदोबाटोका कप्तान सुदिप गुरुङले टिमलाई अग्रता दिलाएका थिए।
हिमालयन शेर्पाका डिफेण्डर म्यानुअल नानाको गल्तीको फाईदा उठाउँदै सातदोबाटोका कप्तान सुदिपले बललाई सहजै गोलपोष्टको दिशा दिएका थिए। सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दा त्यसको फाइदा सुदिपले लिएका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा हिमालयन शेर्पाका सुशील राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। विश्वास श्रेष्ठको क्रस बल सातदोबाटोका डिफेण्डर करण रावतले क्लिएर गर्न नसक्दा त्यसको फाइदा हिमालयन शेर्पाले लियो।
दोश्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै सेमिफाईनलमा मकवानपुर ११ संगको भेट पक्का गरे।
प्रतियोगिताको दोश्रो संस्करणमा उपाधि जितेको हिमालयन शेर्पाले अब फाइनल प्रवेशका लागि बुधबार हुने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ संग प्रतिस्पर्धा गर्नेछ।
खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित भए। उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वार्टरफाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडले विभागीय टिम एपिएफ क्लबको सामना गर्नेछ।