साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ मा समूह चरणको अन्तिम खेलमा नेपालले बराबरी खेलेको छ।
मंगलबार भएको खेलमा नेपालले घरेलु टिम बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो।
खेलको आठौं मिनेटमा सेनु परियारको गोलबाट नेपालले खेलमा अग्रता लिएको थियो। त्यसपछि नेपालमाथि बंगलादेशले लगातार दबाब दिएको थियो।
दोस्रो हाफमा बंगलादेशले बराबरी गोल गर्यो। ७५ मिनेटमा सागोरिकाले बंगलादेशका लागि बराबरी गोल गरिन्।
बराबरीसँगै बंगलादेशको उपाधि लक्ष्य सकिएको छ। नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिएको थियो।
यसअघि नेपालले रसियासँग ३-० र भारतसँग ४-१ को हार बेहोरेको थियो। नेपालले भुटानलाई भने ५-० गोलले पराजित गरेको थियो।
प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन्।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टिम च्याम्पियन हुनेछ।
अहिलेसम्म रसिया तीनै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ। आज राति भारतसँग बराबरी खेले रसिया च्याम्पियन हुनेछ। भारतले फराकिलो अन्तरले जित निकाले उपाधि जित्नेछ।